अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

पूजा र आकाशको ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनिक

लक्ष्मण सुबेदी २०७९ वैशाख ५ गते २१:३० मा प्रकाशित

काठमाडौँ । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलरमा कमेडी,लभ,रोमान्स,सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ ।

निमेष प्रधान निर्देशित फिल्मलाई अद्वितीय प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् ।

जेठ ६ गते प्रदर्शन हुने फिल्ममा पूजा र आकाशका साथमा सुनिल थापा,छुल्ठिम गुरुङ,शिशिर राणालगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ,सिल्गुडी तथा सिक्किमका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने संवाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् ।

दर्शकहरूले औधि मन पराएको पूजा र आकाशको जोडीलाई दर्शकले एउटै फिल्ममा हेर्न नपाएको धेरै भएको छ । अधिकांश दर्शकले उनीहरूलाई सँगै भएको हेर्न चाहेका छन् । सोही सन्दर्भमा केही दिनअघि सार्वजनिक यो फिल्मको ‘परेलीमा’ बोलको गीतले पनि दर्शक श्रोताको मन जितिरहेको छ । ट्रेलरले त फ्यानहरुमा अझै खुशीयाली ल्याउने विश्वास निर्माण पक्षको छ । पछिल्लो समय उनीहरू बिच सम्बन्ध चिसिएको हल्ला चलिरहेको छ । ट्रेलरमा पनि पूजा र आकाशबिचको सम्बन्धमा असमझदारी भएको झलक देखाइएको छ,जुन कुरा उनीहरूको वास्तविक जीवनसँग मेल खान गएको छ । तर,कतिपयले भने ‘सम्झना–बिर्सना’ ले यी दुईको पुनः मिलाप गराउने अनुमान समेत गरेका छन् ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा राजन ईशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै सङ्गीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।