अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

डिसेम्बर फल्समा आर्यन र उपासनाको जोडी

लक्ष्मण सुबेदी २०७७ मंसिर १७ गते ९:२१ मा प्रकाशित

काठमाडौँ, निर्माणाधीन फिल्म ‘डिसेम्बर फल्स’ को हिरोइनमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । केही समयअघि एक कार्यक्रमका बिच निर्माण घोषणा गरिएको फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन् । त्यति बेला निर्माण पक्षले स्क्रिप्टको मागअनुसारको हिरोइनको खोजी जारी रहेको बताएको थियो । अन्ततः मङ्गलवार ‘डिसेम्बर फल्स’ मा उपासना भित्रिएकी हुन् ।

भुवन केसीको ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी उपासनाले त्यसपछि रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनय गरेकी थिइन् । अभिनीत दुवै फिल्मबाट उपासनाले तारिफ पाइन । उपासनालाई पछिल्लो समय आधा दर्जन बढी फिल्मको अफर गएको थियो । जसमध्ये उनलाई स्क्रिप्ट र टिम मन परेकाले ‘डिसेम्बर फल्स’ साइन गरेको बताइएको छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई भारतीय फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन् । लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,सलोन बस्नेत,नागेन्द्र रिजाल,चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल,सञ्चारकर्मी नरेश भट्टराईलगायतले अभिनय गर्ने पक्का भइसकेको छ भने केही कलाकारको छनौट कार्य अझै जारी छ ।

भारतीय फिल्म उद्योगमा व्यस्त रहेका छायाकार रबी नायडुले खिच्ने फिल्मको कथा बिपीका खनालले लेखेकी हुन् भने पटकथा र संवाद केदार भुसालको हो । दीपक शर्मा र कोसिस क्षेत्रीको सङ्गीत रहेको फिल्मको सुटिङ प्रस्तुतकर्ता रामप्रसादको जन्मदिन पारेर माघ ४ गतेदेखि सुरु गर्ने योजना निर्माण पक्षको छ । ०७८ साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म काठमाडौँ र पोखरामा खिचिने छ ।