अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

बैंकहरूको नयाँ ब्याजदर लागूः एउटाले ब्याज बढाउँदा, अधिकांशले घटाए

बिआरटीनेपाल २०८० मंसिर १ गते ६:२२ मा प्रकाशित

आजबाट वाणिज्य बैंकहरूको नयाँ ब्याजदर लागू भएको छ। बैंकहरूले मंसिरका लागि नयाँ ब्याजदर निर्धारण गरी लागू गरेका हुन्।वाणिज्य बैंकहरूमा अधिकांशले बैंकको ब्याजदर घटाएका छन्। कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थगत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन्।कात्तिकमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ९.९६४ प्रतिशत र संस्थागत निक्षेपतर्फ ७.८५२६ प्रतिशत थियो। व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाउँदा एउटा बैंकले मात्रै ब्याजदर बढाएको छ।

कात्तिककै ब्याजदरलाई कायम राख्ने ६ वटा बैंक छन्। माछापुच्छ्रे बैंकले भने केही प्रतिशत ब्याजदर वृद्धि गरेको छ। कात्तिकमा माछापुच्छ्रेले व्यक्तिगत निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको थियो। तर, मंसिरका लागि भने बैंकले व्यक्तिगत र संस्थागततर्फ क्रमशः १०.६०३ प्रतिशत र ८.६०३ प्रतिशत कायम गरेको छ। माछापुच्छे्र बैंकले मंसिरमा बचतमा ५.६० देखि ८.६० प्रतिशत ब्याज दिने भएको छ। मंसिरमा ब्याजदर घटबढ नगर्नेमा नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंक छन्।

यी बैंकले भने कात्तिकको ब्याजदरलाई निरन्तरता दिने भएका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिरमा व्यक्तिगत निक्षेपतर्फ ८.९७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगाले व्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत, कृषि विकासले व्यक्तिगततर्फ ९.५१२ प्रतिशत र संस्थागततर्फ ७.५१२ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत ब्याज दिने भएका हुन्। त्यसैगरी, हिमालयन बैंक र नेपाल एसबिआईले मंसिरका लागि व्यक्तिगत निक्षेपतर्फ १०.६३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत ब्याज दिने भएका हुन्।

सबैभन्दा धेरै ब्याजदर एनआईसी एसिया बैंकले २.०३५ प्रतिशतले घटाएको छ। मंसिरका लागि बैंकले व्यक्तिगततर्फ ८.९६८ प्रतिशत र संस्थागततर्फ ६.९६८ प्रतिशत ब्याज दिने भएको हो। एनएमबि बैंकले व्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर कायम गरेको छ। कात्तिकको तुलनामा बैंकले ब्याजदर १.२४३ प्रतिशतले घटाएको हो। मंसिरका लागि एभरेष्ट बैंक, प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेका छन्। यी बैंकले ब्याजदर पनि कात्तिकको तुलनामा ०.२२४ प्रतिशतले घटेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू