अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

होटल सङ्घ पोखराले पर्यटन प्रवर्द्धन गर्न भाइटीका महोत्सव गर्ने

बिआरटीनेपाल २०८० कार्तिक २५ गते २१:१६ मा प्रकाशित

होटल सङ्घ पोखराले पर्यटन प्रवर्द्धन गर्न भाइटीका महोत्सव गर्ने भएको छ । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले यही कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव गर्ने भएको छ ।‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ लेकसाइडको होटल ल्याण्डमार्कमा महोत्सव गर्न लागिएको सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

नेपाली संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्देश्यका साथ निरन्तर महोत्सव गर्दै आएको अध्यक्ष सुवेदीले  बताउनुुभयो । कोभिड–१९ लगायत विविध कारण पर्यटन मारमा परिरहेको उल्लेख गर्दै उहाँले पर्यटन पुनःरुत्थानमा महोत्सवले सघाउने विश्वास व्यक्त गर्नुुभयो ।

संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष भाइटीकामहोत्सव सञ्चालन भइरहेको महोत्सवका संयोजक एवम् सङ्घका सचिव पार्वता पाण्डेले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्‍याएर टीका लगाउन आउने अपेक्षा गरिएको उल्लेख गर्दै संयोजक पाण्डेले महोत्सव पोखराका लागि अर्को महत्वपूर्ण पर्यटकीय गतिविधिका रुपमा विकास भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू