प्रधानमन्त्री पु्ष्पकमल दाहाल(प्रचण्ड) ले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)परियोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताउनुभएको छ । नेपाल/चाइना बिजनेस समिटलाई बेइजिङमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २०१७ मा नेपाल बीआरआई परियोजनामा सामेल भएको र अहिले त्यसको कार्यान्वयनको अन्तिम चरणमा रहेको बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच क्रस बोर्डर इकोनोमिक जोन,सडक करिडोर,रेल,ट्रान्समिसन लाइनमा काम भइरहेको बताउनुभयो। उहाँले केही समयअघि नेपालले चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गरेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आउनु नेपाल(चीन पारवहन सम्झौताको कार्यान्वयन हो’।
आर्थिक सहयोग र साझेदारी अघि बढाउने विषयमा आफू र चिनियाँ राष्ट्रपति सी जीनपिङबीच छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। उहाँले चिनियाँ राष्ट्रपति सी र आफूले क्रस बोर्डर कनेक्टिभिटीलाई मजबुत पार्ने विषयमा गम्भीर छलफल भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले लगानी गर्न उपयुक्त मुलुक भएको भन्दै चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो। उहाँले जलविद्युत,कृषि,पर्यटन र यातायात क्षेत्रमा लगानी गर्न नेपालमा अपार संभावना भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘चिनियाँ उद्योगका लागि लगानी गर्न नेपाल निकै आकर्षक गन्तव्य बनेको छ’।
अहिले आर्थिक मन्दी र भू-राजनीतिक उथलपुथलका कारण विश्वले संकट र चुनौतिको सामान गरिरहेको प्रधानमन्त्रीले बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले संकटले पनि अवसर ल्याउन सक्ने बताउनुभएको थियो। प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएर आज बेइजिङ जानुभएको थियो । नेपाल/ चाइना बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दुई मुलुकको ऐतिहासिक सम्बन्धको चर्चा गर्नुभएको थियो ।