अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

अमेरिकामा विमान उडान प्रतियोगितामा दुई चालकको मृत्यु

बिआरटीनेपाल २०८० असोज १ गते २१:०५ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन्। ‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटा विमान एक आपसमा ठोक्किदा उनीहरूको मृत्यु भएको आयोजकहरूले बताएका हुन्।‘हाम्रो रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान गएको छ, दुवै जना दक्ष पाइलट थिए,’ रेनो एयर रेसिङ एसोसिएसनले एक विज्ञप्ति निकालेर भनेको छ। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

सात रेसिङ क्लास समेटिएको उक्त कार्यक्रमले विगत १० वर्षमा १० लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको तथा त्यसबाट ७५ करोड डलर आम्दानी भएको एसोसिएसनले बताएको छ। विगत पाँच दशकदेखि हरे वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसरी पाइलटको मृत्यु भएको यो पहिलो दुर्घटना होइन। गत वर्ष पनि जेट विमान दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो। सन् २०११ मा दर्शकहरूको भीडमा विमान खस्दा ११ जनाको मृत्यु भएको थियो भने अन्य ६० जना घाइते भएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू