अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

रुस भ्रमण सकेर उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

बिआरटीनेपाल २०८० असोज १ गते ६:३७ मा प्रकाशित

रुसको भ्रमण पुरा गरी उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश फर्किनुभएको छ । उहाँ आफ्नो बख्तरबन्द रेल चढेर हिजो बेलुका रुसबाट प्रस्थान गर्नुभएको रूसी समाचार एजेन्सीले जनाएका छन्। रिया नोभोस्ती एजेन्सीले किमको प्रस्थानको भिडियो सार्वजनिक गरेको छ । तास समाचार एजेन्सीले पनि किम सवार रेलको प्रस्थान गरेको देखाएको छ । किमले अस्ति शनिवार भ्लादिभोस्तोकमा रूसी रक्षामन्त्रीलाई भेट्नुभएको थियो । साथै त्यहाँ हाइपरसोनिक मिसाइललगायत अत्याधुनिक हतियारको निरीक्षण गर्नुभएको थियो ।

गएको मङ्गलवारदेखि शुरु भएको भ्रमण मुख्य गरी सैन्य मामिलामा केन्द्रित भएको अनुमान गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राइफलको सांकेतिक आदानप्रदानले यसलाई थप प्रमाणित गर्ने आधार तय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । मुख्य गरी मस्कोले युक्रेनमा युद्ध जारी राख्न उत्तर कोरियाली गोलाबारुद खरिद गर्न इच्छुक रहेको र प्योङयाङले आफ्नो क्षेप्यास्त्र कार्यक्रम विकास गर्न रूसको सहयोग चाहेको विश्लेषण छ ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले अधिकारीहरूलाई उद्धृत गर्दै किमको भ्रमणको माहोललाई ‘उत्कृट र न्यानो’ भन्दै उत्तर कोरिया र रूसबीच ‘मित्रता, ऐक्यबद्धता र सहयोगको नयाँ युग’ शुरु हुन लागेको जनाएको छ । किम कोरोना महामारीपछिको पहिलो विदेश भ्रमणका क्रममा रुस पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू