अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

संविधानसभाका अध्यक्ष नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

बिआरटीनेपाल २०८० भदौ २८ गते ७:४३ मा प्रकाशित

प्रतिनिधिसभाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बिहीबारको दिउँसो बसेको बैठकमा सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत शोक प्रस्ताव सर्वसम्मत पारित भएको हो ।”बीसको दशक यताका लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनहरुमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुभएका, संविधान सभामार्फत नेपालको संविधान निर्माण गर्न अहम् र नेतृत्वदायी भूमिका खेल्नुभएका मृदुभाषी, सरल, सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको छ”,शोक प्रस्तावमा उल्लेख छ ।

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो । नेम्वाङ एमालेको तर्फबाट २०४८ साल र २०५२ सालमा प्रतिनिधिसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य हनुहुन्थ्यो। उहाँ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधानसभाको अध्यक्ष बन्नुभएको थियो ।

यसैगरी, २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति भएका दिवंगत नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू