अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 21:20

काँकडभिट्टा नाकाबाट भन्सार छलेको १ करोड २० लाख रूपैयाँभन्दा बढीको सामान बरामद

बिआरटीनेपाल २०८० साउन १३ गते ६:१४ मा प्रकाशित

पूर्वीनाका काँकडभिट्टाबाट भन्सार छलेको एक करोड २० लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद भएकाे छ । शुक्रवार हिजाे बेलुका साढे ७ बजेतिर मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शङ्कास्पद अवस्थामा पार्किङ गरी राखेको ना२ख ४९०२ नंको मालवाहक कन्टेनरबाट सामान बरामद गरिएको हाे । सामानसहितको कन्टेनरलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान कन्टेनर खोलेर सामानको विवरण सङ्कलन गरिएको हो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त गस्ती टोलीले सामान बरामद गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो।

कन्टेनरभित्र बौद्धमार्गीले प्रयोग गर्ने काँसको झ्याम्टा, साबुन, हुक्कालगायत सामान रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरीको गस्ती टोली पुग्नुअघि नै कन्टेनरका चालक फरार भएका थिए । ‘बरामद सामानको आयातसम्बन्धी कुनै बिलबीजक र राजस्व तिरेको कागजात भेटिएको छैन’, रेग्मीले भन्नुभयो, ‘कन्टेनर भन्सारबाट कर नतिरी भित्र्याएको हो कि होइन भन्नेबारे अनुसन्धान गरिरहेका छौँ ।’ थप अनुसन्धान गरी कानुनी कारबाही लागि इटहरीमा राजस्व अनुसन्धान कार्यालयमा बुझाइने प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले कन्टेनर भन्सार भित्रबाट नआएको बताउनुभयो ।

प्रतिक्रिया