अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

आगामी आर्थिक वर्षको सुरुदेखि नै अर्थतन्त्र चलायमान हुने अर्थमन्त्री महतको दाबी

बिआरटीनेपाल २०८० असार १९ गते ६:३४ मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने संकेत देखिएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको उल्लेख गर्नुभयो । राजस्व र पुँजीगत खर्च बढाउने तथा साधारण खर्च घटाउने विषयमा सरकार गम्भीर रहेको बताउँदै उहाँले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको दाबी गर्नुभयो । देश आर्थिक हिसाबले समस्यामुक्त नभएको भन्दै उहाँले कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त नहुने जिकिर गर्नुभयो । उहाँले आवश्यकताको तुलनामा सम्बोधन गर्न सकिने विषय अन्त्यन्त कम रहेको बताउनुभयो ।

अर्थ मन्त्रालयका राजस्व सचिव डा रामप्रसाद घिमिरेले मुलुकको समग्र राजस्व संकलन र बजेट खर्च स्थिति प्रस्तुत गर्नुभयो । उहाँले पेन्सन, सामाजिक सुरक्षा, तलबलगायतमा बर्सेनि दायित्व बढ्दै गएकाले स्रोत व्यवस्थापन चुनौती बन्दै गएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्ष अनिवार्य दायित्वको भुक्तानीका लागि यही असार २५ गतेभित्र करिब २५ अर्बको थप स्रोत व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । आजको बैठकमा समिति सदस्यहरुले वार्षिक लक्ष्यको तुलनामा राजस्व संकलन कम भएकाले आर्थिक गतिविधि चलायमान गर्न चुनौती खडा गरेको तथा उद्योग प्रवद्र्धनमा लगानी गर्न गाह्रो भएको भनाइ राखेका छन् । विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको भन्दै उहाँहरुले यसमा आउने उतारचढावले उब्जन सक्ने चुनौती र वैकल्पिक मार्गबारे सरकारको धारणा माग समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू