अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

भरपर्दो इन्टरनेट सेवा नदिने सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

बिआरटीनेपाल २०८१ वैशाख २१ गते ६:४८ मा प्रकाशित

नेपाल दूरसञ्चार प्राधिकरणले भरपर्दो इन्टरनेट सेवा उपलब्ध नगराउने सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। इन्टरनेट सेवा अत्यावश्यक सेवा भएको बताउँदै प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ तथा अनुमतिपत्रको सर्त बमोजिम भरपर्दो एवम् गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा सेवा उपलब्ध गराउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।

यसो नगरेमा प्रदायकलाई हदैसम्मको कारबाही गर्ने चेतावनी प्राधिकरणले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको हो। बिहीबार इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलद्वारा विज्ञप्ति जारी गरिएको थियो। इन्टरनेट सेवा प्रदायकहरूले ब्यान्डविथ खरिदबापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा बिहीबार साँझ केही समय सेवा अवरूद्ध भएको थियो।

सेवा अवरुद्ध भएपछि प्राधिकरणले आफ्नो तर्फबाट लिएको पहलकदमी र सरोकारवालाहरूबाट भएको सहयोग र समन्वयपछि केही समयभित्र इन्टरनेट सेवा पुनः सुरू गरेको जारी विज्ञप्तिमा उल्लेख छ। इन्टरनेट सेवा अवरुद्ध भएपछि विभिन्न सञ्चार माध्यमहरूमा ब्याडविथ खरिदबापत विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेको भन्दै प्रकाशित धारणा, विज्ञप्ति र समाचाहरूप्रति समेत प्राधिकरणको ध्यानाकृष्ट भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू