अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिमाथि छानविन नगरेकाे भन्दै नागरिक अगुवाहरुको आपत्ति

बिआरटीनेपाल २०८० जेठ ११ गते ७:२८ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिहरुमाथि अनुसन्धान नगरिएकोप्रति नागरिक अगुवाहरुले आपत्ति जनाएका छन् ।पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व न्यायाधीश बलराम केसी, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेल र संस्कृतिविद् त्रिरत्न मानन्धरले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरुको बयानमा मुछिएकाहरुमाथि अनुसन्धान अघि नबढाई मुद्धा दर्ता गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

विगतका ठूला भ्रष्टाचार काण्डहरुमा झैं यस पटक पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर गरिएको पनि उनीहरुले बताएका छन् । ‘अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याइ विगतका अरू भ्रष्टाचार काण्डमा झैं यसमा पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर हुन लागेको प्रति हाम्रो गम्भीर आपत्ति छ ।’ विज्ञप्तिमा भनिएको छ ।

उक्त प्रकरणमा मुछिएको प्रमाण देखिएका वा देखिन सक्ने कसैलाई पनि कठघरामा उभ्याउन सरकार नचुकोस् भन्ने माग पनि उनीहरुले गरको छन् । त्यसो हुन नसके आम नागरिकको आक्रोश चुलिने र त्यसले गम्भीर दूर्घटना निम्त्याउने भन्दै नागरिक अगुवाहरुले त्यसका लागि तयार रहन पनि चेतावनी दिएका छन् । नक्कली शरणार्थी प्रकरणमा बुधबार ३० जनाविरूद्ध ठगी, संगठित अपराध, सरकारी लिखत कीर्ते, राज्यविरूद्धको अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको छ ।

पक्राउ परेकाहरुको बयानले उक्त प्रकरणमा उच्च राजनीतिक, प्रशासनिक र प्रहरी नेतृत्व समेत संलग्न रहेको देखाएको छ । तर, उनीहरुलाई सामान्य सोधपुछ समेत नगरी छाड्ने प्रपञ्च भईरहेको आशंका ब्यापक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू