अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

सरकारी वेबसाइटका पुराना सामग्री हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

बिआरटीनेपाल २०७९ चैत १३ गते ८:२९ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ। कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटाहरु नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अध्याधिक जोखिम रहेकोले पुराना लिंक, फाइललगायतका सामग्रीहरु हटाउन निर्देशन दिइएको हो।

प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीले दिएको जानकारीअनुसार नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डाटावेसलगायतका सामग्रीहरु स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनुपरेको हो। हाल नेपाल सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरुसँग परामर्श सेवा लिएर वेबपेज निर्माण गरेका छन्। यसरी निर्माण भएका वेबपेजहरु समयमा नै प्राविधिकरुपमा अपडेट नहुने, निकायपिच्छे नै सुरक्षा जोखिम रहने तथा कतिपय प्राविधिक तथा सुरक्षासम्बन्धी मापदण्डहरुको उचित पालना नगरिने अवस्था रहेकोले प्रधानमन्त्री कार्यालयले एउटै वेभ टेम्प्लेट प्रयोगका लागि समेत तयारी गरिरहेको उहाँले बताउनुुभयो ।

‘सबै निकायले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने किसिमले स्ट्याण्डर्ड वेब टेम्प्लेटको निर्माणको काम अघि बढेको छ। यो टेम्प्लेट निर्माण सम्पन्न भएपछि सबै निकायलाई यही टेम्प्लेटमा आधारित भएर वेबपेज निर्माणका लागि निर्देशन दिइने छ,’ रायमाझीको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू