अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

प्रधानमन्त्री प्रचण्डलाई दोस्रो पटक विश्वासको मत प्राप्त

बिआरटीनेपाल २०७९ चैत ६ गते ७:१९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ । आज सोमवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उहाँले दोस्रो पटक विश्वासको मत पाउनुभएको हो । आजको बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा १ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हुन् । यस्तै ८९ सांसदले यस प्रस्तावको विपक्षमा मत दिँदा १ जना तटस्थ रहे ।

यसअघि गएको पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । त्यति बेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले विश्वासको मत दिए । नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू