अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित

बिआरटीनेपाल २०७९ फागुन २९ गते ७:१५ मा प्रकाशित

पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई ’हब’ बनाएर बुद्ध एअरले चार वटा आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायीमा खुसी छाएको हो ।बुद्ध एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गते रातिदेखि काठमाण्डौ, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट रात्रिकालीन उडान सुरु गरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि विश्राम पोखरामा भएको छ । यी जहाज बिहानै काठमाण्डौ, भद्रपुर, भैरहवा र नेपालगञ्जका लागि उड्ने गरेका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको सम्पर्क बढ्ने र आन्तरिक पर्यटन प्रवर्धन हुने नेपाल टुर एन्ड ट्राभल्स एजेन्ट नेपाल (नाट्टा) पोखराका अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो । अब पर्यटकहरूले छिटो र आरामदायी यात्राका कारण हवाई यात्रालाई रोज्ने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पोखराका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो । पर्यटनसँगै हवाई यातायातले जोडेका दुई सहरका स्थानीय उत्पादन प्रवर्धन गर्न टेवा पुग्ने उहाँको भनाइ छ ।

पोखराबाट भद्रपुर सिधा उडान बुद्ध एअरले अहिले थप गरेको हो भने अन्य क्षेत्रमा दिउँसोमा हुँदै आएका उडानलाई रात्रिकालीन उडान गरेको हो । पोखरा बास बस्ने गरी विभिन्न गन्तव्यबाट यात्रुहरू पोखरासम्म आउने भएपछि पर्यटकको सङ्ख्या बढ्ने पर्यटन व्यवसायीको अपेक्षा छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान भएको झन्डै दुई महिनापछि रात्रिकालीन हवाई उडाए भएको हो । बुद्ध एअरले बेलुकाको समयमा पोखरा आई केही दिनको बसाइ तथा घुमफिरबाट एकाबिहानै गन्तव्यमा फर्कन सहज हुने बताएको छ ।

आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सीमित भएको थियो । अहिले काठमाण्डौबाट दिउँसो ४ बजेपछि तीन वटा उडान राखिएको छ । यसैगरी पोखराबाट काठमाण्डौको उडान बेलुकीसम्म राखिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित पर्यटन व्यवसायीहरू भद्रपुर पुगेर आसपासको क्षेत्रमा प्रचारप्रसार समेत गरेका छन् । पोखराबाट छिटै अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न व्यवसायीको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू