अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

१० महिनाको आयात धान्न सक्ने क्षमता छ- गभर्नर अधिकारी

बिआरटीनेपाल २०७९ फागुन २६ गते ६:५५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडी फर्किन खोजेको हो ?’ भन्दै प्रश्न गर्नुभएको छ । शुक्रवारदेखि काठमाण्डौमा सुरु भएको ’दोस्रो अर्थशास्त्री सम्मेलन’ मा गभर्नर अधिकारीले वि.सं. २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गर्नुभएको हो । उहाँले आवश्यक ठाउँमा राष्ट्र बैंकले नियमन र कडाइ गरिरहेको स्पष्ट पार्नुभयो ।गभर्नर अधिकारीले अहिले दीर्घकालीन लगानीका बारेमा सोचिरहेकाले ऋणलाई जथाभाबी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताउनुभयो । उहाँले आवाजविहीनहरूको र साना लगानीकर्ताहरूका लागि, दुई करोड रुपैयाँभन्दा कम लगानी गर्नेहरूका लागि बेस रेटमा दुई प्रतिशतभन्दा बढी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी दीर्घकालीन लगानी गरिरहेका छौँ । जग्गामा लगानी गरेका छौँ, होटल बनाएका छौँ । यो विषयमा हामीले ओरियन्टेशन गराउन नसकेको, लिट्रेसी दिन नसकेको हुनसक्छ । यसमा हामी अहिले एग्रेसिभ रूपमा लागिरहेका छौँ । २०४६ सालदेखि नेपाल राष्ट्र बैंकले इन्ट्रेसको सन्दर्भमा डिरेगुलाइज गरेको हो । हामीले मार्केटलाई छोडेको हो । अब यो विषयमा पनि बहस होस् । के मार्केटले यही चाहेको हो त ? के निजी क्षेत्रले यही चाहेको हो ? हामी २०४६ सालभन्दा अघि जान खोजिएको हो ? यसमा पनि छलफल होस् ।’

गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताउनुभयो । उहाँले नेपाल समान देशको तुलनामा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गर्नुभयो । उहाँले पुस मसान्तको तथ्याङ्कअनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत रहेको भन्दै गएको सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको स्पष्ट पार्नुभयो । उहाँले अर्थतन्त्रका बाह्य क्षेत्रको तथ्याङ्क सुधार भएर गएको बताउनुभयो । गभर्नर अधिकारीले नेपाल अहिले झन्डै १० अर्बभन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै झन्डै १० महिनाको आयातलाई धान्न सक्ने क्षमतामा रहेको बताउनुभयो । गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र अहिले सहज स्थितिमा रहेको भन्दै सबै कुरामा नकारात्मकरूपले नहेर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू