अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

पोखरा विमानस्थलबाट पहिलो पटक रात्रिकालीन उडान

बिआरटीनेपाल २०७९ फागुन २६ गते ६:४० मा प्रकाशित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई ’हब’ बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट बिहीवार रातिदेखि विभिन्न चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको हो । काठमाण्डौ, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालीन उडान भरेको विमानस्थलले जनाएको छ । पोखरामा रात्रि विसान भएका चारै गन्तव्यका जहाजले आज शुक्रवार बिहान सम्बन्धित गन्तव्यमा उडान भरेका छन् ।

रात्रि उडान तालिका बनाएर उडान सञ्चालन भएको र यसबाट यात्रुको सहजताका साथै पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने प्रमुख गौतमले विश्वास व्यक्त गर्नुभयो । बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार रात्रि उडान भरेर पोखरामा विसान भएका जहाजले आज बिहान पोखराबाट पुनः काठमाण्डौ, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान गरेका छन् । उहाँले पोखरालाई ’हब’ बनाएर एकसाथ सुरु भएको रात्रिकालीन उडानले यात्रुलाई सहज आवातजावतका साथै देशको पर्यटन विकास तथा स्थानीयस्तरमा थप रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । विभिन्न सिलसिलामा पोखरा आएका यात्रुले बेलुका पोखरा बसाइ तथा घुमफिर गरेर बिहान आफ्नो गन्तव्यमा फर्कन सहज हुनेछ ।

निर्धारित रात्रिकालीन उडान तालिकाअनुसार भद्रपुर–पोखरा बेलुकी ६ बजेर ५५ मिनेटमा, भैरहवा–पोखरा बेलुकी ७ बजेर २५ मिनेटमा, नेपालगञ्ज–पोखरा बेलुकी ७ बजेर ३० मिनेटमा र काठमाण्डौ–पोखरा बेलुकी ७ बजेर ३५ मिनेटमा रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन ११ गते इन्स्ट्रमेन्ट फलाइट रुल्स (आईएफआर) प्रणाली लागू भएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ निजी क्षेत्रका बुद्ध एअर, यती एअरलाइन्स, श्री एअरलाइन्स र सौर्य एअरले काठमाण्डौ–पोखरा उडान भर्दै आएका छन् । पोखराको पुरानो आन्तरिक विमानस्थलबाट तारा एअर र समिट एअरले स्टल रुटमा उडान भर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू