अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 23:52

आईसीसी विश्व कप क्रिकेट लिग २ – नेपालले पीएनजीलाई हरायो

बिआरटीनेपाल २०७९ फागुन १९ गते ६:३५ मा प्रकाशित

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराएको छ । यूएईले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विके गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले ८६ र सन्दीप लामिछानेले ३५ रन बनाए । नेपालले १ सय ५ रनमा ७ विकेट गुमाएको अवस्थामा आसिफ र सन्दीपले आठौँ विकेटका लागि अविजित ७७ रनको साझेदारी गर्दै टोलीलाई जिताएका हुन् । यसअघि ओपनर कुशल भुर्तेल पहिलो बलमै खाता नै नखोलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए । यस्तै रोहित पौडेल र आरिफ शेख १/१ रनमा आउट भए ।

बलिङतर्फ पीएनजीका आसाद भालाले ३ तथा सेमो कमेया र सेसे बाउले २/२ विकेट लिए ।यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।

यस शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । हिजो बिहीवारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पीएनजी रहेका छन् । नेपालले अर्को खेल सोमवार यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू