अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

बिगुल

गोपीराम भण्डारी 'बटुवा' २०७९ माघ २८ गते ११:१५ मा प्रकाशित

भरखरै झिसमिसे साँझ परेको थियो । ऊ स्वाँ स्वाँ स्वाँ गर्दै कुदेर घरभित्र पसी । डराउँदै घरभित्र छिरेकी आमाको अनुहारमा हेर्दै छोरीले प्रश्न गरी “आमा किन कुदेको हस्याङ् फस्याङ् गर्दै”? उसले गर्ल्याम गुर्लुम  ढोका लगाएर गरालाे छिराउँदै भनी, “बाहिर भुत र गिध्दहरू घुमिरहेका छन् । एकल नारी देख्याे कि झम्टि हाल्छन् । तिनीहरूबाट अस्तितव बचाउन  दैलोमा आग्लो लगाएकी हुँ” ।

छोरीले फेरि सोध्छे- “आमा तिनीहरूसँग डराएर कतिञ्जेल भाग्ने, तिनीहरूसँग डराएर भाग्नुको साटो तिनीहरूलाई भगाउने कुनै उपाय छैन”? आमाले दाह्रा किड्दै भनी -“छ छोरी , यो जातीय पगरी  र लैङ्गिक घुम्टो ओढेका समाजका स्थापित भुतहरूलाई भगाउन बिगुल फुक्नुपर्छ । बिगुल फुक्यो भने ती भुत र गिध्दहरू भाग्छन्”यति भनेपछि उसकाे अनुहारमा भयका धर्सा बिलिन भए ।

आमाकाे मुहारमा आशाकाे मुस्कान देखेकी छोरीले तत्काल प्रस्ताव राख्दै तम्सियर भनी ,”त्यसो भए बिगुल फुकाै न त” !

हातमा बिगुल लिएर फुक्न तम्सिएकी छोरीलाई हाततान्दै आमाले भनिन्,”पहिला यी भुतसँग युद्ध गर्न लाएक बन्नुपर्छ । अहिले अध्ँयारो छ, उज्यालो हुन देऊ । उज्यालाेमा क्रान्तिकाे बिगुल फुक्यो भने बिगुलकाे भ्रान्तिपूर्ण आवाजले भ्रान्तिकारी ती पिशाच र गिध्दहरू सदासदाका लागि बिलय गराउने छ। अध्याराेमा फुक्याै भने तिमीलाई उल्टै झम्टने छन् “।

बुख्याचा बनेकाे समाजमा चेतनसूर्य  झुल्काउँदै उज्यालोमा बिगुल फुक्ने अठोठ गरी ढोकामा गह्रालो लगाई उज्यालोकाे प्रतीक्षा गरिरहे  ।

बिहानीकाे उज्यालोमा बिगुलफुक्ने आशामा दैलाे पाेतेका आामाछाेरीले  फुकेकाे बिगुल के बज्ला ! कदाचित बिगुल बज्यो भने याे बहिरो बनेकाे समाजले सुन्ला त  !!!?