अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

समाधिका ताराहरू

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ माघ २८ गते ११:०४ मा प्रकाशित

विवेकको अर्को नाम
स्वाभिमान हो
स्वाभिमान दीपशिखाजस्तै हुन्छ
यो झुक्दैन
अग्लिएर बलिरहन्छ
थाहा छ
सत्य हिउँजस्तै कञ्चन हुन्छ
घामजस्तै न्यानो हुन्छ
जूनजस्तै शीतल हुन्छ
चम्किरहन्छ ।

न्याय उस्तै छ अमर
यो वसन्त हो
आफ्नै समाधिमा
यो सुगन्धित हुन्छ
समयले जति परीक्षा लिए पनि
यो सयपत्री भएर फक्रिन्छ
गुलाफ भई यो काँडामाथि फुल्छ
गुराँस भई यो डाँडामाथि झुल्छ ।

चेतना स्वयम् शक्ति हो
जुडास झैँ यो घुँडा टेकेर लत्रिन्न
कतै यो ब्रुनो
अग्निज्वालाहरूमा उठ्छ
कतै यो सुकरात हुँदै
हेमलक/विषका प्यालाहरूमा फुल्छ ।

जुन मुटु अमृतले रचिएको छ
त्यसका सामु
मृत्यु जहिले पनि पराजित हुन्छ
निरन्तर समाधिमा बसिरहेका
आकाशका ताराहरू साक्षी छन्
ईर्ष्यालु कुन औँसीले
तिनलाई छोप्न सक्छ ?
बादल जति गर्जिए पनि
तिनका समाधिलाई
कहाँ रोक्न सक्छ ?
————-
गोरखा , लप्सीबोट ; हाल: काठमाडौ – ६, सरस्वतीनगर ।