अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

राष्ट्रपति निर्वाचन समयमै हुनुुपर्नेमा कांग्रेसको जोड

बिआरटीनेपाल २०७९ माघ ९ गते ६:३५ मा प्रकाशित

नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गरिनुपर्ने बताएको छ। सरकार र निर्वाचन आयोगलाई समयमै राष्ट्रपतिको निर्वाचन गर्न ध्यानाकर्षण गराउने निर्णय सोमबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकले गरेको हो। बैठकपछि प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपति निर्वाचन समयमै हुनुपर्ने बताउनुुभयो । उहाँले राष्ट्रपति निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षणसमेत गरिएको जानकारी दिनुुभयो ।

गत पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले आफूहरू प्रमुख प्रतिपक्षमै रहेको बताइरहेको छ। यसबीचमा कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारीसमेत दिएको थियो। दुवै पद सत्ता साझेदार दलका साझा उम्मेदवारले जितेका थिए।कांग्रेसले राष्ट्रपति निर्वाचनमा अरू दलको सहयोग लिएर उम्मेदवारी दिने निर्णयसमेत गरेको छ।

राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले साथ दिने विश्वासमा कांग्रेस छ । प्रधानमन्त्री प्रचण्डले केही दिनअघि बालुवाटारमा सर्वदलीय बैठक गरेर संवैधानिक पदहरूमा दलहरूबीच छलफल गर्नुपर्ने प्रस्ताव राखे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक मत राख्नुुभएको थियो ।

कांग्रेसले भने राष्ट्रपति आफूहरूले पाउनुपर्ने बताइरहेको छ। राष्ट्रपति निर्वाचन फागुन २९ बाट पनि उता लैजाने प्रयास हुन लागेको जिकिर गर्दै उसले त्यसलाई कुनै हालतमा स्वीकार नगर्ने जनाएको छ । संविधान र निर्वाचन कानुनका व्यवस्था बाझिएकाले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन मिति तोकिएको छैन। संविधानअनुसार राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ। तर निर्वाचन कानुनमा राष्ट्रपतिको कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ राष्ट्रपति निर्वाचित गरिनुपर्ने व्यवस्था छ। यो विषय आपसमा मेल नखाने देखिएकोले ऐन मिलाएर राष्ट्रपति निर्वाचन गर्न कांग्रेसको माग छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू