अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४० | Colorodo: 01:55

सरकारले धानकाे समर्थन मूल्य तोक्यो, प्रतिक्विन्टल कम्तीमा २ सय १५ रुपैयाँ बढ्याे

बिआरटीनेपाल २०७९ कार्तिक २३ गते ५:४१ मा प्रकाशित

सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० का लागि धानको समर्थन मूल्य तोकेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिनुभयो ।

यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार नाै सय ६७ रुपैयाँ तोकेको छ । यो मूल्य पोहाेरको तुलनामा दुई सय १५ रुपैयाँ बढी हो । यस्तै मध्यम धानको मूल्य पोहोरको तुलनामा दुई सय २६ रुपैयाँले धेरै अर्थात् प्रतिक्विन्टल तीन हजार एक सय २८ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको भाउ बढेसँगै सरकारले पनि धानको न्यूनतम समर्थन मूल्य बढाएको प्रवक्ता सन्जेलले बताउनुभयो ।

धानको मूल्य बढेपछि किसानले केही राहत महसुस गरेका छन् । सरकारले कृषि उपजको बिक्रीको सुनिश्चितताका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ । तर किसानले भने समर्थन मूल्य तोकिए पनि सरकारी कम्पनीले कोटा पूरा भइसकेको भन्दै धान खरिद नगर्ने गरेको गुनासो गर्ने गरेका छन् । न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिटै सूचना प्रकाशन गरिने मन्त्रालयले जनाएको छ ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई सरकारले प्रतिक्विन्टल एक सय १२ रुपैयाँ व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ । यस आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया