अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

सन् २०२२ मा कार्बन डाइअक्साइड उत्सर्जनमा सामान्य वृद्धि हुने आईईएको अनुमान

बिआरटीनेपाल २०७९ कार्तिक ४ गते ६:४० मा प्रकाशित

सन् २०२२ मा विश्वव्यापी कार्बन डाइअक्साइड उत्सर्जन एक प्रतिशत मात्र बढ्ने अनुमान गरिएको छ ।पछिल्ला वर्षहरुमा ऊर्जा सङ्कटको असरबारे चिन्ता व्यक्त गरिए पनि जीवाश्म इन्धन दोहनबाट हुने कार्बन डाइअक्साइड उत्सर्जन एक प्रतिशत मात्र बढ्ने अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले जनाएको छ ।तेल, ग्यास र कोइला बालेर ऊर्जाका लागि उत्सर्जन हुने कार्बन डाइअक्साइड सन् २०२२ मा ३३ अर्ब ८० करोड टन पुग्ने अनुमान छ ।

कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्र उकास्नलाई गएको वर्ष अझ धेरै जीवाश्म इन्धनको प्रयोग भएको अनुमान गरिएको थियो ।रुस–युक्रेन युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटले यस वर्ष प्राकृतिक ग्यासको मूल्यमा भएको वृद्धिका कारण कोइलाको मागमा केही वृद्धि भएको आईएले जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

तर, अहिले विद्युतीय गाडीसहित नवीकरणीय प्रविधिको व्यापक प्रयोग हुन थालेको र यसले सन् २०२२ मा झण्डै एक अर्ब टनको जीवाश्म इन्धनको असर वृद्धिलाई रोक्ने अपेक्षा समेत गरिएको आईएका कार्यकारी निर्देशक फातिह बिरोलले बताउनुभयो ।जीवाश्म इन्धन उत्सर्जनबाट विश्वको सबैभन्दा धेरै प्रदूषण गर्नेमध्येको एक चीनमा सन् २०२२ मा उत्सर्जन धेरै हदसम्म स्थिर रहने अनुमान छ । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा पेरिस सम्झौताको तापक्रम मापन लक्ष्य हासिल गर्न हरितगृह ग्यास उत्सर्जन आधा घटाउनुपर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू