अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५४ | Colorodo: 10:09

चिल्लो र पोलेको मासु खाँदा स्वास्थ्यमा जटिलता हुने चिकित्सकको चेतावनी

बिआरटीनेपाल २०७९ असोज १७ गते ७:५१ मा प्रकाशित

मासुका विभिन्न परिकारको स्वादमा रमाउँदै आफन्त र साथीभाई माझ दशैं मनाउँदै हुनुहुन्छ भने खानपानमा तपाईले पक्कै ध्यान दिनुपर्छ ।

मासुलाई सन्तुलित भोजनमा संलग्न गराएर फाइदा त लिन सकिन्छ । तर अत्यधिक खाँदा स्वास्थ्यमा जटिलता निम्तन सक्छ । प्राय घरभित्रै मिठो खानपानका साथ मनाइने यो चाडमा शरीरलाई आवश्यक व्यायाम पनि कम हुँदा स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ ।

दशैं लागे देखिनै प्राय नेपालीको भान्सामा पाक्ने परिकार भनेकै मासु हो । प्राय जसोको घरमा खसी, बोका तथा च्याङग्रा काट्ने गरिन्छ । आममानिसले अघिपछि भन्दा दशैंमा निकै मासु खाने गर्दछन् । मासुका अनेकथरी परिकार दशैंकाे विशेषता नै हो । अन्य परिकारको तुलनामा मासु नै अधिक खाने गरिन्छ । मासु भिटामिन बी १२ को मुख्य स्रोतमध्येको एक हो । साथै रातो मासुमा प्रचुरमात्रामा प्रोटिन र आइरन पाइन्छ । यी तत्वहरु हाम्रो शरीरको वृद्धि विकासका लागी अत्यावश्यक हुन्छ । तर मासुमा पाइने चिल्लोले भने रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

जसले गर्दा मुटुरोगको समस्या निम्त्याउन सक्छ । धेरै मात्रामा रातो मासु र प्रशोधित मासुको सेवनले आन्द्राको क्यान्सरसम्म हुनसक्ने अनुसन्धानले देखाएको छ । प्रशोधित मासुमध्ये धेरै प्रयोग हुनेमा सुकुटी र ससेज पर्दछन् ।
मासुका परिकारहरु पकाउने तरिकाले पनि विभिन्न रोग निम्त्याउन सक्ने चिकित्सकहरुको भनाइ छ ।पोलेर तयार गरिने परिकार स्वास्थ्यका लागि लाभदायक नहुने भएकाले कम खानु उपयुक्त हुने सल्लाह चिकित्सकहरुको छ ।

छाला निकालिएको मासुलाई थोरै तेलको प्रयोग गरी पकाएर खानु स्वास्थ्यका लागी उपयुक्त हुन्छ । काँचो मासुमा विभिन्न रोग फैलाउने सुक्ष्म जिवाणुको संक्रमणको खतरा हुने भएकाले सकेसम्म काँचो मासुका परिकार नखान चिकित्सकहरुको सुझाव छ । दशैंको समय घरपरिवार र आफन्तजनसँग रमाइलो गरी बिताइन्छ । प्राय घरभित्रै मिठो खानपानका साथ मनाइने यो चाडमा शरीरलाई आवश्यक व्यायाम पनि कम हुँदा स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ ।

त्यसैले चाडबाड मनाइरहँदा आफ्नो स्वास्थयमा पनि ख्याल गर्ने कि ?

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू