अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 10:46

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु

बिआरटीनेपाल २०८१ मंसिर ४ गते ४:४४ मा प्रकाशित

भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ ।अस्पतालले मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा शुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्ने गरी गएको कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गर्नुभएको थियो । अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो ।

सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौं र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो ।स्वास्थ्यमन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्ने गरी पहल सुरु गरेका थिए ।

बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि पनि निःशुल्क प्रदान गरिने जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८० चैत १४ गते विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग बालबालिकामा हुने क्यान्सरको उपचारका निम्ति निःशुल्क औषधि प्राप्तिको सम्झौता गरेको थियो । नेपालमा हरेक वर्ष झण्डै १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू