अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

”अहिलेको संविधान र व्यवस्था रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बन्यो”- पूर्वराजा ज्ञानेन्द्र

बिआरटीनेपाल २०७९ असोज १४ गते ६:१८ मा प्रकाशित

पुर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा राख्ने अवस्था आएको बताउनुभएको छ । दसैंको शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले समसामयिक राजनीतिकबारे आफ्ना धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताउनुभएको हो । शाहले नेपालको विद्यमान संविधान र व्यवस्थामाथि नै प्रश्न उठाउँदै मौलिकता, राष्ट्रियता, नागरिकता, परराष्ट्र नीति, भागबन्डा केन्द्रित राजनीति र भ्रष्टाचारको विषयमा आफ्ना धारणा सार्वजनिक गर्नुभएको हो ।

शुक्रबार आफ्ना सहयोगी फणिराज पाठकमार्फत सार्वजनिक गरिएको भिडिओ सन्देशमा नेपाली जनताले अभिभावकीय भूमिका खोजिरहेको दाबीसमेत पूर्वराजा शाहले गर्नुभएको छ । ‘विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। पहिले पनि हामीले भनिसकेका छौं( हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन। राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून्,’ शाहले भन्नुभएको छ ।

उहाँले भ्रष्टाचारले समाज र व्यवस्थालाई थप भ्रष्ट बनाएको र सर्वसाधारणका दैनिक जीवन सकसपूर्ण बन्दै गइरहेको पनि बताउनुभयो । शाहले देशभित्र र बाहिर रहेका नेपालीलाई दसैंको शुभकामना दिँदै अहिलेको समय देशभक्त नेपालीका लागि सजिलोसँग वितिरहेको जस्तो नलागेको पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।दलहरू आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले कति निष्ठावान् र जनउत्तरदायी रहने भन्ने आजकल जल्दोबल्दो प्रश्न बनेको पनि उहाँको भनाइ थियो।‘पदलोभ, सत्तास्वार्थ र भागबन्डा गरेर आफ्नै सुविधा भोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ?,’ शाहले प्रश्न गर्नुभयो, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ।’

पुर्वराजा शाहले यस्तो अवस्थाले जनतामा उत्साह नभएको पनि बताउनुभयो। उहाँले देशका प्रति बफादारी र जनताकाप्रति उत्तरदायी भएर काम गर्ने विधि, व्यवस्था, संगठन र प्रतिनिधित्वको सही पात्र देशले खोजिरहेको पनि बताउनुभएको छ । पुर्खाले आर्जेको यो राष्ट्रलाई असफलतातिर धकेल्न हुन्न भन्ने आमभावना रहेको पनि शाहको भनाई छ ।

‘केही संरचना बदलेर, केही नामन्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछ। त्यसैले बलियो मियो आवद्ध भएर बलियो र दरिलो नेपाल बनाउन दिव्यचेतना आउनु आवश्यक छ,’ शाहले भन्नुभयो । शाहले युवायुवती वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको पनि बताउनुभएको छ । उहाँले नागरिकता विधेयकप्रति पनि विरोधको संकेत गर्दै भन्नुभएको छ , ‘बाहिरियाहरूलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ।’ पुर्वराजा शाहले परराष्ट्र नीति असन्तुलन भइदिँदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गइरहेको दाबी समेत गर्नुभएको छ । मौलिकता, धार्मिक र सांस्कृतिक मान्यता विस्थापित गर्ने क्रममा तीव्रता देखिएको शाहको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू