अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

फल

गोपीराम भण्डारी 'बटुवा' २०७९ भदौ २५ गते १०:५२ मा प्रकाशित

लघुकथा

बाह्रवर्षमा खोला फर्किए झैँ परदेशमा हराएको रमित आफ्नो घरमा पन्ध्र वर्ष पछि फर्किएको छ । माया मारेको मान्छेको अकस्मातकाे आगमनले परिवारका सबै सदस्य हर्षित छन् । “धन्य भगवान् मेरो प्रार्थना सुन्यौ” श्रीमतीले भनिन । “हैन हैन मामु म प्रत्येक आइतबार व्रत बसेको फल हो”, छोराले भन्यो । “हैन, हैन मैले भगवतीलाई भाकल गरेकोले बाबा फर्कनु भएको हो”,छोरीले भनिन ।

प्रार्थना,भाकल,व्रत जे भए नि फल राम्रै भयो । सबैले खुसीयाली साटे । बेलुका घरमा भोज चल्यो । इच्छा अनुसारका खाद्य र पेय सबैले चढाए । रमित फर्किनुमा कसको हात हो खै जेलरको हो वा भगवानकाे उसले बुझ्न सकेन । जीवनका भोगाइ सुनाउनु थियो तर —। सबैले खानपिन गरे अनि सुते ।

राति एक्कासि रमितलाई गाह्रो भयो । उसले पालैपालो सबैलाई उठाउने चेष्टा गर्‍यो। ऊ करायो, रोयो तर कोही उठेनन् । निकै बेर छटपटियो ।अन्ततोगत्वा उसले मुक्तिको लामो श्वास तान्यो । ऊ तन्कियो ।

बिहानै श्रीमतीले चिया लिएर गइन तर ऊ उठेन । ऊ सधैँका लागि निदाइसकेको थियो । उसलाई कसैले उठाउन सकेनन् । रूवाकल्ली अलाप विलाप भयो ।अन्तिम संस्कारका लागि सबै तयार भए । तयारी गर्दै गर्दा एउटा नौलो मान्छेले भन्यो । यी त मेरा ऋणी हुन् । मैले इनलाई पन्ध्र वर्षदेखि खोजिरहेको थिए। यिनले जग्गा किन्न भनी मैले विदेशमा कमाएको दस लाख लिएर आएका थिए । लास सदगत गर्नु पूर्व मेरो ऋण तिर्नुस् । नत्र म यो लास भए नै लिएर जान्छु । प्रत्येकका कमाइ पालैपाले स्वदेशका परिवारलाई पठाउने करारनामा र उसले लिएको प्रमाणको तमसुक देखायो र जिद्दी कस्यो ।

“वर्षाै वर्ष हराएको मान्छेको लास जलाएर दस लाख तिर्नु भन्दा लास नै उसलाई दिने निर्णय गरे “।

अपरिचित व्यक्तिले लास लिएर गयो । ऊ काे थियो ?उसले लास के गर्याे ? कसैलाई पत्तो भएन । भोलिपल्ट कान्तिपुरको फ्रन्ट पेजमा उसको फोटो सहितको श्रद्धाञ्जली छापियो।

उसको श्वास र लास खै कता हरायो ? थाहा भएन ।विज्ञापनले सम्पत्तिका हकवालाहरूको हक स्थापित गर्याे । हप्ता दिनमा परिवारका सदस्यहरू मालपोत कार्यालयको लाइनमा देखिए । बाह्रबर्षमा फर्किएको खोला, बाह्र घण्टामै सुक्यो । सभ्यता,संस्कृति र मानवता परदेसियाे ।श्रीमती र सन्ततिले लालपुर्जा समाए । अस्तित्व न मनमा थियो न कागजमा । थियो त केबल हड्डी घोटिएको अखाध्य फल ।