अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

बिहानसँग जन्मिने जीवन

गोपी मैनाली २०७९ असार २४ गते १०:४४ मा प्रकाशित

फेरि रात फेरिएर धर्तीमा बिहान झर्‍यो । चखेवा–चखेवीहरु लोभ लाग्दा चीरवीरमा कौसी, बोटबिरुवा र दलानसम्म नाच्न लागे; उनीहरू निर्भयमा छन्, यति सबेरै त व्याधा पनि आउँदैन । खोला–खहरे शालीन सुसेलीमा छन् । बनपाखाहरु स्नीध्न सरस छन्, कलिला मुनासँग कञ्चन शीतको मोतीले मुकुट लगाएको छ । बाबुनानीहरु भने रोएको बहानामा आमा खोज्दैछन्, आमाहरू गाग्री भरेर घरतिर उकालो लाग्दै छन्, पानीका मुहान जङ्गल र चौरतिर पधेर्नीहरु मीठा भलाकुसारी साथ दैनिकी उघार्दै छन् । गाईबस्तुहरू हिजोको खाना ओकार्दै छन् । हो, बिहानी प्रत्येक दिन यसरी नै आउँछ, यसरी नै सबैलाई अनौठो चुस्का दिन्छ र भन्छ –दैनिकी सुरु गर, उत्साहमा, रमाएर सुरु गर, जिन्दगीका पोयाहरू थप्दै जाऊ, स्निग्ध, सरल र स्वच्छ बन ।

बिहान थालनीको शुभ हो । त्यसैले शिष्टाचारमा पनि ‘शुभ प्रभात’ भन्ने गरिएको छ । थालनीहरू शुभ होउन् भन्ने सबैमा छ । बिहान हिजोका थकानहरू पछि उत्साहमा आउँछ । बेलुकाका बासीहरू त्यतै छाडेर ताजा बनेर आउँछ । हो, बिहानले सम्भावना र ताजगीहरू उघार्दै जीवनको रथलाई गति र प्रगति दिन्छ ।

बिहान समय हो, बिहान उत्साह र उन्मेद हो । बिहान निश्छल, स्वच्छ र बेदाग छ । पूर्वी नीर फाट्दै बिहानीले दैनिकीलाई शुभ प्रभात भन्छ, उषाकिरणसंगै बिहान प्रकृतिमा हाँस्छ र दिनलाई सुरुवातको स्वागत गर्छ ।

बिहान आफैमा अञ्जान छ, सन्देहहीन छ र अज्ञान पनि । दृश्यहरू सपाट स्वच्छ छन्, दृष्टिहरू परसम्म सजिलै फ्याँकिन्छन्, आकाशमा बादलका फिर्का पनि छैनन्, पुरै निलो मैदानको समुद्र जस्तो आकाशले दिनभरि जीवन फैलिएऊ, उदात्त बन भन्ने अनन्त आकाङ्क्षा उघारेको छ । हो बिहान दिनभरिका हैरानी थकावट, मेलापात, उछिनापछिन, आशा, आशक्ति, ईर्ष्या, कुण्ठा, प्रेम–पीडा, दौडाइ, पसिना, सङ्घर्ष सबैको शैथिल्यको विश्रामपछि ताजा सुरुवातमा झुल्किएको छ ।

बिहानसँग जन्मिने जीवन ताजा सुरुवात हो । बिहान कार्यका शृङ्खला रच्छ, दैनिकीको तालिका बनाउँछ, दिन रुपी जीवनको शिलान्यास गर्छ । पूर्वी आकाशबाट ध्वारध्वार आफूसम्म पोखिएको उषा किरणले मन मस्तिस्कलाई फराकिलो बनाउँछ । शरीरमा स्वच्छ हावा सिञ्चन गर्छ, मनभरि निस्वार्थ माया र मष्तिस्कभरि उज्यालो भर्छ । प्रकृतिको निश्छल अल्लारेपन सजाएर एउटा असल जीवन सुरु गर्छ ।

सम्झौँ त, हाम्रा सुरुवाती दिनहरू बिहान जस्तै हुन्छन्, ती विहाननै हुन्, त्यसैले बेदाग छन् । अबोध बालक कुभलो गर्दैन, दुर्भाव राख्दैन । माया, प्रेम, शान्ति, सद्भाव र पवित्रताले सुरलिएको हुन्छ । बाल सुलभ दिनचर्या बिहान हो । सच्चा मानवता बिहानी हो, सृष्टि र सभ्यताको पाइला बिहानी हो । सृष्टि र सभ्यता सधैँ सुन्दर हुन्छ । प्रत्येक बिहान सृष्टि र सभ्यताको सुरुवात हो । प्रजनशीलता र विनिर्माणको स्वागत हो, कर्म हो, कर्मको जग हो । प्रकृतिसम्मत जीवनको सपाट क्यान्भास हो, क्यान्भासभरि प्रकृतिका पहिचान र पवित्रता पोखिएको छ । बेदाग र उदात्त प्रकृति यस्तै जीवन हुनुको स्फूर्त आग्रह हो ।

बिहान अञ्जान भएकोले अज्ञान छ । भनिएला अज्ञान पनि राम्रो हो र ? ज्ञानका दम्भलाई बिहानले बेवास्ता गर्छ । अज्ञानका मूर्खलाई बिहानले मान्दैन । उ हो त फगत अञ्जान सृष्टि, मनमा भावना कुद्न रमाएको सपाट मन, हो, त्यो रित्तो छ, त्यसैले राम्रा मीठा सिर्जना कुद्न सकिन्छ । अद्र्धज्ञानी अज्ञानी हो, बिहान पुरै रित्तो छ, त्यसैले अद्र्धज्ञानमा दम्भ देखाउँदैन, मीठा सिर्जनाको तयारीमा छ । अज्ञानको मूर्खता, ज्ञानका आडम्वर र विज्ञानको तृष्णाहरू बिहानमा बज्र्यित छन् । बिहानरूपी बालक कर्मको आशक्ति, प्रेमको पागलपन, शक्तिको उन्माद र प्रतिष्ठाको मदहोसीमा छैन । विन्दास विन्दास हो बाटोमा रमिने, मनभरि गदगदिने पनि गर्दैन । मनभरि आमाको माया, साथी सङ्गातीको प्रेम र प्रकृतिको मोहन नै पर्याप्त छन् । फौरिने, झौरिने, हौसिने, लठारिने गर्दैन बिहान, बिटुलिदैन बिहान । त्यसैले बिहान स्वच्छ छ, रित्तो मनजस्तै स्वच्छ, निर पाटेपछि उषा नआउँदैको पूर्वी क्षितिज जस्तै पवित्र, उषाले नचुमेको शीत बिन्दु जस्तै स्निग्ध ।

बिहान सपना पनि हो । सुरुवातको जगमा सपना हुन्छ । सपनाहरू भयङ्कर भए पनि डर लाग्दैनन्, मीठा हुन्छन् । सपनाले उत्साह र ऊर्जा थप्छ । सपनाले बिगार्दैन । सपनाको युद्धले कहाँ विध्वंस मच्चाएको छ र ? बरु अचेत मनलाई पुग्ने गरी चेतना, ज्ञान, उत्साह र उत्सर्ग भरिदिन्छ । सपनामा मरेकाहरू बिपनामा बिउँझिएर जीवनयात्राका असजिला गन्तव्य समाउछन्् । बिपनाले गरेको अन्याय सपनामा विना क्षति उपस्थित छ । सपनाको मृत्युमा पनि जीवन बाँकी छ, अचेतनमा पनि चेतना बाँकी छ, क्रोधमा पनि शान्ति, युद्धमा पनि अहिंसा छ, सबै सबैमा मानवता छ । र, झस्याङ्ग भएर सपना बिहानको मझेरीमापोखिएको छ । त्यसैले बेदाग छ र सिर्जनाको शक्ति हो ।

बिहान उसासँगै यात्रामा सम्मिलित छ । साथी सङ्गीसँग खेल्छ । बिस्तारै खेलका सिद्धान्तहरू रचिन थाल्छन् । निश्छल खेल सिद्धान्त, नियम र मान्यताले हारजितको प्रतिस्पर्धामा बिस्तारै कश्मल हुन थाल्छ । प्रतिस्पर्धाले सिर्जनात्मक तनाव थप्दैन, ईर्ष्यामा डाहिन्छ । लालसा र लोभ झँगाउँछ र जालझेलका लामा छोटा तानावाना रचिन्छन् । किनकि अरूलाई जित्नु छ । दायित्वबाट थिचिन थाल्छ, जिम्मेवारीमा बाँधिन थाल्छ । बिहान आठ नौ बजेतिर पुग्दा विकृति र सुकृतीको दोभान बन्छ । छ्यासमिसे बन्छ । तर अहिलेसम्म खेल धेरै बिग्रिसकेको छैन, बिग्राइपट्टि उद्यत छ ।

आठनौ बजाइ निश्छलतामाथि कश्मल दाग देखिनसक्ने समय हो । कर्मले पनि, बाँच्नका लागि पनि संघर्षको क्षमता चाहिन्छ । हो सङ्घर्ष भनेपछि सूत्र र नियमहरू भाचिन सक्छ । कर्मका साथ जिब्रोले सुखको स्वाद र शरीरले आनन्द खोज्छ । सबैले सुख पाउँदैनन्, कसैको दुख अर्कोको सुख बन्ने न हो । दुखत पाइतालाले पाउँछ । दिमागले पाइतालाहरूलाई कहाँ न्याय गरेको छ र ? पाइतालाहरू कर्मलाई नै जीवन सम्झन्छन्, कर्म नगरी कहाँ बस्न सक्छन् र यी पाइतालाहरू ?तर पाइदाताला र दिमागको फासला फराकिदो छ । कर्म गर्नेहरू अन्याय सहन्छन्, दिमाग चाँहि शक्तिमा बोझिन्छ ।

सयम तातिँदै गएपछि फूल पनि मन्द मुस्कानमा रहँदैन, फक्रक्क बन्छ, मुना–पालुवाहरू घामसँग लोभिन्छन्, चराचुरुङ्गीहरू चड्किला गीत गउन थाल्छन् । हिंस्रक प्राणीहरू खानाको शिकारमा लम्किँदै छन् । वातावरण तात्नु भनेको परिश्रम गर्नु हो, पसिना चुहाउनु हो । उब्जाउनु हो । तातो बिजाङ्कुरणको शक्ति हो । प्रसव वेदना लिने समय हो । प्रसव पीडा पनि सिर्जनाको लागि हो । त्यसैले मध्यान्ह मन फैलिएर मात्र रमिदैन, शरीर तात्नु पर्छ भन्नेमा सतत छ । भुईँमा प्रशोधित पानी पुन आकाशतिर बाष्पीकरणमा फैलिन्छन्, धुलकण र बाष्पको समागम, सङ्घर्ष सन्तुलनले जमिनतिर वइरिन्छन्, जसरी शरीरबाट पसिना चुहिने गर्छ । अव विहसनमा जन्मिएको जीवन मध्यान्हमा वयस्क बन्यो । परिवार छ, परिश्रम गर्नुप¥यो, प्रतिस्पर्धा चाहियो, मायालाई सङ्घर्षले ओत दिनु प¥यो । तेरोमेरो, आफ्नो–पराय, माया–सम्झौता, सुकृती–विकृतिमा जीवनले मध्यान्ह पाएको छ, परिपक्वता पाएको छ । मध्यान्ह फोस्रो मायामा रमाउँदैन । सङ्घर्षमा मोलिँदै छ जीवन, साँघेरिदै छ जीवन । तर यो सच्चाइ जीवनले कहाँ बुझ्यो र ?

मध्यान्हले नराम्रो ग¥यो मात्र भनेर लाञ्छना गर्नु हुँदैन । जीवन आधा मेलोमा पुग्दा सीप र सामर्थ्य उपयोग गर, कर्म गर उपलब्धि आशक्तिमा जाऊ, निष्काम नबस भन्ने सिकायो । नब्बे डिग्रीको उषाले सिधै शक्ति दिएर कर्ममा ततायो । छायाँहरु आफैमा हराउनु भनेको भ्रम र भ्रान्तिमा होइन, कर्ममा बढ, परिश्रमले उब्जाउ भनेको हो । त्यसैले मध्यान्ह आलस्यको विरोध गर्छ, सुख होइन समृद्धिका लागि आक्रामक बन्छ । सङ्घर्ष बिहानले भनेजस्तो शान्तिपूर्ण छैन । मनभरि ज्वारभाटा छन्, दिमागमा तुफानी उहापोह छ र हात–पाइतालाहरू जुरमुराएका छन् । निधारदेखि पसिना तप्किएको छ । पसिनाले सिर्जनालाई सिञ्चन गर्छ, र समाज र सभ्यतालाई समृद्ध बनाउँछ ।

दिन ढल्किनु उत्साह पनि निहुरिनु हो । छड्के पर्दै गएको उषाले पनि टाढैबाट दिएको किरण उज्यालो त छ तर न्यानो छैन । उत्साह र सामथ्र्यहरु मधुरा बन्दैछन् । मध्यान्हको कमाइ टिप्ने सामर्थ्य भए पुग्यो । उषा टाढा पुग्दा हावा मच्चिएर जीवन थचार्न थाल्छ । हिमाल चिसिन्छ, आकाश बदलिन्छ । कहिले त असिना र चट्याङ बर्साउँछ । ससाना ढिक्का बादलले पनि थाक्दो उषालाई छोप्न–उघार्न थाल्छ । बादल उषा किरणले नै जन्माएको थियो । आफ्नै सृष्टिले पनि आफैमाथि धावा बोलेको आफैले हेरेको छ । सफलतामा वाह वाही गर्नेहरू संघर्ष र खेदाइमा निरपेक्ष छन् । आफैले हुर्काएका लालावालाहरू आफ्नै रुचिमा लागिसके, मानौँ उनीहरू पनि आफ्नै बिहानीबाट आफ्नै यात्रा सुरुमा छन् । हावाका झोक्काले बटबृक्षका हाँगाहरू यताउता पार्न थाल्यो । प्रतिक्रियाहीन, आवाजहीन बटबृक्षहरु सङ्घर्ष गर्न सक्दैनन्, शालीन सहेर बस्नुको विकल्प छैन । चखेवा–चखेवीहरु खोपा–खट्प्वाल पसेर वात्सल्य ओतिइरहेका छन् ।

दिन ढल्किनु जवानी रित्तिनु हो । समयको जीवनमा जवानी सामर्थ्य भएर आउने गर्छ । त्यै भएर आएथ्यो, निर्माण र विनिर्माणका कथा गरेथ्यो । उजाड उव्जाउस्थललाई हराभरा बनाएथ्यो । तर जोस सकिए पनि जीवन बाँकी छ,चेतना र विवेक बाँकी छ । ईर्ष्या र उन्माद झनै दोलयमान छन्, दा¥हा किटेर, अट्टहास गरेर फेरि मध्यान्ह फित्र्याउन खोज्छ । सबै सोचहरू सम्भव छैनन् । सोचलाई सम्भव गराउने सामर्थ्य हो । तैपनि सोचमा उरालिन्छ, मौलिन्छ, भौँतारिन्छ र फेरि एकपटक जीवन र जवानीको सन्तुलनमा तम्सिन्छ । विश्लेषित हुन्छ । बिहानीमा स्वच्छता र अञ्जानपन हराएकोमा चिन्ता पनि छैन । तर चिन्तन गर्छ–मैले अझै गर्नु छ । परिवार छ, लोभ र लालसा छ । लुकामारी गर्दै समय र उषाले अग्ल्याउँछ, थचार्छ, उचाल्छ, पगाल्छ । यही लुकामारी र समयको पटाक्षेपसँग जीवन सकिनसकी घिचिरहेको छ ।

सन्ध्यामा पुगेको समयले बिहानीलाई पूर्णतः भुलिसक्यो । तुरिसकेको यात्राका लामालामा बाटोहरू फर्केर हेर्दैन । चहकिलो बिहान मधुरो साँझ बन्दैछ । विहसनजस्तै चिसो छ, तर उस्तै होइन । उषाकिरण बिहान पनि छँदै थियो उज्याले उत्साहीमा थियो, बेलुकीको उषा आफै कमजोर र सागर पाकेको चित्र बन्दैछ । बिहान प्रस्ट थियो, अहिले मीठो तर अमूर्त छ, न राप छ न ताप नै । शायद वितानदेखिको यात्राले होला, शिथिल र सित्तै छ । देख्नमा मात्र राम्रो, अमूर्त चित्रहरु देख्नमा राम्रा हुन्छन्, अर्थ र आशय जे लगाए नि भो । पिँढी–बार्दलीमा आफैलाई समीक्षा गर्दै बसेको समयरुपि जीवन गर्न नसकेका, गर्न नभ्याएका, तुर्न छोडिएका कुराहरूमा चिमोटिएको–टङ्चिएको छ । बिहान जस्तो ताजा र मध्यान्हजस्तो जोसिलो अनि आत्रामक छैन । बरु विस्मृत हुन लागेका बिहानदेखिका मधुराचित्रहरु स्मृतिमा उतार्न खोज्दैछ, चलचित्रका मोन्टाजजस्तै । लोलाउँदै छ । शिथिल सुतेको बुढो समय यहाँभन्दा बढी के गर्न सकोस् ?

बिहान सुरु हो । प्रत्येक बिहान जीवनको ताजा थालनी हो । मध्यान्ह सङ्घर्षमा परिपक्व बन्छ र सन्ध्यामा शिथिल । र, प्रत्येक दिन यसै गरी मिर्मिरेसँगै बिहान नयाँ जीवन, भनौँ ताजा थालनीका लागि बिउँझिन्छ, मध्यान्हमा पौरख गर्दै सन्ध्या जरासन्धको समीक्षापछि रातमा विश्राम लिन्छ ।
एउटा जीवन हजारौँ दिनको जीवन भोग्दै, स्वाद र सङ्घर्ष लिँदै समयसँग खेल्छ र पनि जीवनदेखि अघाउँदैन । जुगौदेखि जीवन यसरी नै बिहानसँग बिउँझने र निद्रासँग बिर्सने खेलमा नाटक गरिरहेछ । नेपथ्यको निर्देशक को हो कुन्नि ? कुन दिन त्यै दिनमा जीवनको पर्दा तानिदिन्छ, त्यसको भेउसम्म लिन सक्दैन ।


–मैनाली निवास
क्षितिज मार्ग, शङ्खमूल ।