अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

अर्थमन्त्री र प्रधानमन्त्रीलाई नै पत्याउन गाह्रो पर्‍याे : खिमलाल भट्टराई

बिआरटीनेपाल २०७९ जेठ २५ गते ८:१२ मा प्रकाशित

राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले देशमा अर्थमन्त्री र प्रधानमन्त्रीलाई नै पत्याउन गाह्रो परेको बताउनुभएकाे छ । आज बुधवार राष्ट्रिय सभामा बोल्दै उहाँले सदनमा उभिएर गरेका वाचा हप्ता दिनभित्रै बिर्सिन थालेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले देशमा उत्पादन घट्ने अनुमान गरिरहेका बेला सरकारले झनै मलखाद र बिउको पूर्ति गर्न नसकेर किसानलाई चिन्तित तुल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्ति भर्खर यही टेबुलमा उभिएर अर्थमन्त्रीज्यूले भन्नुभयो– यो पटक मलका लागि पैसा पर्याप्त छुट्याइएको छ, किसानलाई कुनै चिन्ता छैन, मल आउँदैछ । देशको अर्थमन्त्री बोलेपछि पत्याउनु पर्‍याे कि परेन ? यो देशमा अर्थमन्त्री, प्रधानमन्त्रीलाई पत्याउन नसकिने स्थिति भयो । तर आज पनि समस्या जस्ताको त्यस्तै छ । आज मलको हाहाकार छ, असार लाग्न थालिसक्यो । यो किसानका लागि पीडाको विषय हो । प्रधानमन्त्रीज्यूले यसबारेमा के सौच्दै हुनुहुन्छ ? किसानलाई चाहिने कुरा भनेको मल हो । बिउ हो । यसतर्फ सरकारको ध्यान गएको छैन । आधिकारिक ठाउँबाट मल नपाएर किसानले बोरामा अलिकति मलखाद, बिउ ल्याउँदा सताइएको छ । गृह मन्त्रीजी के गर्दै हुनुहुन्छ ।’

राष्ट्रिय सभा सदस्य भट्टराईले कृषि मन्त्रीले मलखाद किसानलाई समयमै उपलब्ध गराउन नसकेको बारेमा सदनलाई जवाफ दिनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू