अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 07:52

विश्वको राजनीतिक र कुटनीतिक अवस्थाबारे नेपाल सजग छ कि छैन ? : देव

बिआरटीनेपाल २०७९ जेठ २५ गते ८:१० मा प्रकाशित

राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज बुधवार राष्ट्रिय सभामा बोल्दै सांसद देवले सरकार फेरिने बित्तिकै परराष्ट्र नीति परिवर्तन हुने कुरा नेपालमा हुन नहुने बताउनुभयो । उहाँले अहिले विश्वको राजनीति र कुटनीति चुनौतीपूर्ण, खतरनाक अवस्थामा रहेको भन्दै नेपाल यसबारेमा सजग छ वा छैन भन्ने प्रश्न गर्नुभयो ।

सांसद देवले भन्नुभयो, ‘विश्वको आजको जुन परिस्थिति छ, नेपालजस्तो सानो देशका लागि अत्यन्त चुनौतीपूर्ण, खतरनाक छ । नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्छ । नयाँ सरकार आउने बित्तिकै फोरेन पोलेसी परिवर्तन हुने कुरा नेपालमा हुनु हुँदैन ।’

सांसद देवले नेपालले अन्तर्राष्ट्रिय कुटनीतिको बारेमा विशेष विश्लेषण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले रुस–युक्रेन युद्ध र ताइवान आसपासका क्षेत्रमा भइरहेको चलखेलले नेपालमा पनि असर पर्नसक्ने भन्दै त्यसतर्फ सचेत रहेर काम अघि बढाउन सरकारलाई सुझाव दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘रसिया र युक्रेनको युद्धले युरोप र नेपालको पश्चिमतिर नयाँ परिस्थिति जन्माइरहेको अवस्था छ । रुस र युक्रेनको द्वन्द्व डोनवास क्षेत्रसँग मात्रै रहने हो कि, त्यो भन्दा पश्चिम किएभसम्म जाने हो, झनै फैलिएर पश्चिम युरोपतिर जाने हाे कि भन्ने हेर्नै बाँकी छ । यो युद्धले आर्थिक सङ्कट मात्रै होइन, धेरै ठूलो राजनीतिक र कुटनीतिक चुनौती विश्वसामु आइपरेको छ । अर्को चाइना सी, ताइवान आसपासका क्षेत्रमा पनि चुनौती देखिरहेको छ । यसले कुन बेला कस्तो स्थिति ल्याउँछ थाहा छैन । म आग्रह गर्न चाहन्छु, यो सामान्य कुरा होइन, त्यस कारण नेपाल सरकार र परराष्ट्र मन्त्रालय यस विषयमा विश्लेषण गरिरहेको होला ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू