अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

स्थानिय तह निर्वाचन – ७१५ पालिकाको नतीजा सार्वजनिक

बिआरटीनेपाल २०७९ जेठ ८ गते ९:२४ मा प्रकाशित

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ । गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ७१५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ । कांग्रेसले ३१४ वटा स्थानीय तहको प्रमुख पद जितेको छ भने २९२ वटा तहको उपप्रमुख पद जितेको छ । त्यसैगरी कांग्रेसले २ हजार ५६७ जना वडा अध्यक्ष जितेको छ । कांग्रेस पछि नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले १९३ वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने २१९ वटामा उपप्रमुख पद जितेको छ । उसले २ हजार ६१ जना वडा अध्यक्ष जितेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । उसले १२० वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने १२५ वटामा उपप्रमुख जितेको छ । माओवादीले १ हजार १३ वडा अध्यक्ष हात पारेको छ । यता नेकपा एकिकृत समाजवादीले १७ वटा पालिकामा प्रमुख पद जित्दा २१ वटामा उपप्रमुख पद जितेको छ ।

२८ पालिकामा अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् भने जनता समाजवादी पार्टीले २९ वटा स्थानीय तहका प्रमुख जितेको छ भने ३० उपप्रमुख पद जितेको छ । उसले २८० वडा अध्यक्ष हात पारेको छ । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानीय तहका प्रमुख र १० वटा स्थानीय तहमा उपप्रमुख हात पारेको छ ।

अब ३८ वटा स्थानीय तहको नतिजा आउन बाँकी छ । ती मध्ये विभिन्न कारणले केही स्थानीय तहको मतगणना हुन सकेको छैन । बाँकीको भने मतगणना जारी छ । मतगणना जारी रहेका स्थानीय तहमा कांग्रेसले ११ पालिका प्रमुख र ८ उपप्रमुखमा अग्रता लिएको छ । यसैगरी नेकपा एमालेले १३ पालिका प्रमुख र १९ उपप्रमुखमा अग्रता लिएको छ ।

त्यस्तै माओवादीका उम्मेदवारहरुले २ पालिका प्रमुख र ३ उपप्रमुखमा अग्रता लिएका छन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालले २ पालिका प्रमुख र १ उपप्रमुखमा अग्रता लिएको छ । नेकपा एकिकृत समाजवादी २ पालिकाको प्रमुखमा अगाडि छ ।

लोकतान्त्रिक समाजवादी पार्टी भने ३ पालिका प्रमुख र ३ उपप्रमुखमा अगाडि रहेको छ । अन्य पार्टीका र स्वतन्त्रले गरी ३ वटा पालिका प्रमुखमा अग्रता लिइरहेका छन् ।

राजनीतिक दलका उम्मेदवारहरुले कतिपय स्थानीय तहमा बिगतका एक अर्काका बर्चश्व रहेका किल्ला भत्काएर विजयी भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको थियो भने यसपाली दोस्रो भएको छ । त्यतिबेला दोस्रो बनेको कांग्रेस यसपाली भने पहिलो पार्टी बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू