अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५२ | Colorodo: 10:07

निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन आयोग कहिँ पनि चुकेको छैन् – प्रवक्ता पौडेल

बिआरटीनेपाल २०७९ जेठ २ गते ६:३८ मा प्रकाशित

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १३ हजार भन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । सोमबार निर्वाचन आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार साँझ सम्ममा १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको बताउनुभएको हो । जसमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी वडा अध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ निर्विरोध निर्वाचित हुनुभएको उहाँले उल्लेख गर्नुभयो ।

विभिन्न कारणले मतदान स्थगित भएका धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका वडा नं.६ को ठाकुरदेवी मा.वि., सप्तरीको रुपनि गाउँपालिका वडा नं. ५ को गा.वि.स. भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका वडा नं.३ को भगवती मा।वि।मा आज मतदान भएको प्रवक्ता पौडेलले बताउनुभयो ।

त्यसैगरी बझाङको केदारस्यु गाउँपालिका वडा नंं. ४ को जगन्नाथ उच्च मा.वि., बझाङको सुर्मा गाउँपालिका वडा नं. २ को आधार बगर मा।वि। र बझाङको सुर्मा गाउँपालिका वडा नं. ३ कृष्ण प्रा.वि. मतदान केन्द्रमा पनि शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । उहाँले मतदान स्थगित भइसकेका विभिन्न स्थानहरुमा निर्वाचन भइसकेको र बाँकी रहेका मतदान केन्द्रहरुमा पनि छिट्टै सुचना दिएर निर्वाचन गराइने बताउनुभयो । आयोगका प्रवक्ता पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि आयोग कहिँ पनि नचुकेको स्पष्ट पार्नुभयो ।

छिटपुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उहाँले बताउनुभयो । प्रवक्ता पौडेलले १३० पालिकाको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू