अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

गभर्नरमाथि सरकारले लगाएकाे आराेप पुष्टि नहुन सक्छ : डा. नेपाल

बिआरटीनेपाल २०७८ चैत २९ गते ९:०५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुन सक्ने बताउनुभएको छ ।  आज मङ्गलवार काठमाण्डाैमा भएकाे साक्षात्कारमा बोल्दै पूर्वगभर्नर नेपालले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुन सक्ने बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार स्वायत्तता संस्था भएकाले सरकारले स्वायत्त दिनुपर्ने बताउनुभयो । वित्तीय स्वायत्तता दिए केन्द्रीय बैंकले वित्तीय स्थायित्व गर्न सक्ने भन्दै पूर्वगभर्नर नेपालले केन्द्रीय बैंकको स्वायत्तता हुनुपर्छ मन्ने मान्यता विश्वभरि रहेको दाबी गर्नुभयो ।

पूर्वगभर्नर नेपालले प्रधानमन्त्री र मन्त्रीहरू सरकारमा आएपछि चुनावमा नागरिकसँग प्रतिबद्धता गरेका कुरा बजेटमार्फत पूरा गर्ने उद्देश्यले बजेट बजारमा धेरै छर्ने तर केन्द्रीय बैंक सङ्कुचित सोचबाट हिँड्ने भएकाले दुवैको कुरा नमिल्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बजारमा बढी पैसा भयो भने कसरी तान्ने भन्ने काम केन्द्रीय बैंकले गर्छ । त्यस कारण केन्द्रीय बैंक सङ्कुचित सोचबाट हिँडेको हुन्छ । तर सरकारले बजारमा पैसा पठाएर भोटरलाई खुसी बनाउनका लागि विभिन्न कार्यक्रम ल्याएकाे हुन्छ । त्यस कारण केन्द्रीय बैंक र सरकारबीच विश्वका कुनै पनि देशमा धेरै कुरा मिलेको हुँदैन । मेरो बेलामा पनि भएको थियो । मेरोभन्दा अगाडि पनि भएको थियो । यो भइ नै रहन्छ । अर्थमन्त्री र गभर्नर फरक क्रियाकलापबाट अगाडि बढ्ने हो । एउटाले तरलतालाई कम गराएर देशको आर्थिक विकासलाई दुरगामी असर नपार्ने गरी वित्तीय स्थायित्वलाई हेर्छ भने अर्कोले तरलता बजारमा छरेर आर्थिक विकासलाई अगाडि बढाउँछ ।’

पूर्वगभर्नर नेपालले कोरोना महामारीपछि केन्द्रीय बैंकले उद्योगी व्यवसायीहरूलाई सम्बोधन गर्ने क्रममा कर्जा विस्तार अत्यधिक भएको बताउनुभयो । राष्ट्र बैंकले कर्जा प्रवाह नियन्त्रण गर्न नसक्दा बजारमा तरलताको अभाव भएको उहाँकाे भनाइ छ । नेपालमा यो वर्ष इतिहासमै पहिलो पटक ३२ प्रतिशत कर्जा विस्तार भएकाे उहाँकाे दाबी छ । कर्जा विस्तार बढ्ने, समयमा बजेट नआउने, समयमा मौद्रिक नीति नआउने तथा देश बजेटविहीन अवस्थामा पुगेको र केन्द्रीय बैंकले समग्र वित्तीय क्षेत्रमा ब्याज दर तोकेकाले थप बजारमा तरलता अभाव भएको पूर्वगभर्नर नेपालले बताउनुभयो ।

पूर्वगभर्नर नेपालले देशकाे विदेशी मुद्रा सञ्चितिमा दबाब परेकाेमा कुनै शङ्का नभएको बताउनुभयो । उहाँले दबाब पनि केही समयपछि विस्तारै सुधार हुँदै जाने उल्लेख गर्नुभयाे । नेपालमा अहिले अर्थतन्त्रको विषयमा जति नै बहस भए पनि श्रीलङ्काको जस्तो अवस्थाबाट अर्थतन्त्र नगुज्रिएको उहाँकाे दाबी छ ।

प्रतिक्रिया