अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

युक्रेनको रेलवे स्टेशनमा रुसी सेनाको रकेट प्रहारबाट पाँच बालबालिकासहित ५० जनाको मृत्यु

बिआरटीनेपाल २०७८ चैत २६ गते ८:०२ मा प्रकाशित

 युक्रेनको क्रामटोरस्क रेलवे स्टेशनमा भएको रकेट आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँदै आएको रेलवे स्टेशनमा रुसले रकेट आक्रमण गरेको हो । स्थानीय गभर्नरका अनुसार ३८ जनाको घनास्थलमै र १२ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु गएको हो । गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार मृत्यु हुनेमा पाँचजना बालबालिका पनि छन् । घटनामा ३ सय जना घाइते भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रेलवे स्टेशनमा भएको आक्रमण रुसले गरेको अर्को युद्ध अपराध रहेको बताउनुभएको छ । आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा जेलेन्स्कीले अपराधका लागि भविष्यमा हुने सुनुवाइमा रुसलाई कानुनको दायरामा ल्याउने बताउनुभयो ।

यसअघि, जेलेन्स्कीले युक्रेन भ्रमणमा रहेकी युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियनसहितको टोलीसँग बुचा क्षेत्रको अनुगमन गर्नुभएको थियो । उर्सुलाले बुचामा सोच्नै नसकिने अपराध भएको बताउनुभएको थियो । त्यसको केही घण्टा भित्रै रेलवे स्टेशनमा आक्रमण भएको हो । उर्सुलासहितको टोली रेलमार्ग भएर पोल्याण्डबाट युक्रेन पुगेको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा ‘भयानक–आततायी अत्याचार’ गरेको बताउनुभएको छ । रेलवे स्टेशनमा भएको मिसाइल आक्रमणको सन्दर्भमा उहाँले रुसको निन्दा गर्नुभयो । तर रुसले भने आक्रमण गरेको स्वीकार गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू