अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केहीको रहर पूरा हुँदैन : अर्थ मन्त्री शर्मा

बिआरटीनेपाल २०७८ चैत २५ गते ६:३८ मा प्रकाशित

अर्थ मन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धराशायी नहुने प्रष्ट पार्नुभएको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलङ्का जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो ।

नेपाल र श्रीलङ्काबीच तुलन नै नहुने भएकाले अर्थतन्त्र श्रीलङ्का जस्तो नहुने उहाँको भनाइ थियो । ‘हाम्रो ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायतालगाायत तथ्याङ्क हेर्‍यौँ भने श्रीलङ्कासँग तुलना नै हुन सक्दैन । तुलना हुनै नसक्ने विषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतङ्कित बनाउने काम गरिरहेका छन्, त्यसको तपाईँ हामी सबै मिलेर खण्डन गर्नुपर्छ’, उहाँले भन्नुभयो ।श्रीलङ्कासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धराशायी हुन्छ भन्दै बहस गर्नेहरूलाई सकारात्मक भईइदबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उहाँले अपिल गर्नुभयो ।

क्रिप्टोकरेन्सी, हाइपर फन्डलगाायत कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले पाँच महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको पनि उहाँले बताउनुभयो । यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैधरूपमा पैसा बाहिरिन थालेको उहाँको भनाइ थियो । ‘प्रविधिको विकासबाट आउने चुनौतीबाट त्रसित हुने होइन । यसको दुरुपयोग हुन नदिने गरी हामीले कदम चाल्नुपर्नेमा ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो ।

अर्थतन्त्र यति बेला दबाबमा रहेको उल्लेख गर्दै मन्त्री शर्माले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको बताउनुभयो । काम गर्ने परम्परागत शैलीलाई परिवर्तन गरेर मात्रै अर्थतन्त्रमा सुधार ल्याउन सक्ने उहाँको भनाइ थियो । देशभित्र भएका स्रोत–साधनको अधिकतम उपयोग गर्नुपर्ने, देशभित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सिर्जना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीमा जाने नेपालीबाट रेमिट्यान्स प्राप्त गरेपछि उनीहरूलाई पनि विभिन्न सहुलियत दिनुपर्ने विषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको उहाँले जानकारी दिनुभएको थियो । कोभिड–१९ का कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल थालेको उहाँको भनाइ छ ।

प्रतिक्रिया