अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

एमालेले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ : झलनाथ खनाल

बिआरटीनेपाल २०७८ चैत ५ गते ८:२० मा प्रकाशित

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले संसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताउनुभएको हो । पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संविधानको प्रावधानविरुद्ध गएर संसद विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।

ऐन उलंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रुपमा जीवन बिताउनुपर्ने तर संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै उहाँले नेपाली जनताले उनलाई निर्वाचनको माध्यामबाट सजाय दिनुपर्ने बताउनुभयो । नेता खनालले आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने दावी गर्दै उनको बाकसमा ‘जिरो’ मत हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानका प्रावधानहरुको विरुद्ध गएर संसद विघटन गर्ने योजना बनाए । यो अर्को दक्षिणपन्थी अवसरवाद हो । दक्षिणपन्थी भडकावको कुरा हो । अपराधको कुरा पनि हो त्यो । संविधान कसैले उलंघन गर्दाखेरी एउटा सामान्य ऐन उलंघन गर्दाखेरी मान्छे जेल जान्छ । तर संविधान नै उलंघन गर्ने मान्छेलाई खै सजाय अहिलेसम्म ? त्यसकारणले कमरेडहरु, अव सजाय दिने बेला आएको छ । अव यो आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठूलो साजय पाउनुपर्छ । र, उनको बाकसमा जिरो मत पाउनु पर्छ हेर्नुस । तव मात्रै बास्तवमा नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहरिन्छ । तपाई, हामीले पनि संविधानको रक्षा गरेको ठहरिन्छ । यस्ता खालका अपराधिक काम उनले गरेका छन ।’

खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने भन्दै आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू