अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

नर्थ क्यारोलाइनमा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न

बिआरटीनेपाल २०७८ फागुन २५ गते १९:१९ मा प्रकाशित

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टरको आयोजनामा मार्च ५, २०२२ मा अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा घर देशबाटै साहित्यमा गहिरो दखल भएका महिला साहित्यकार द्वय मञ्जु काँचुली र प्रभा भट्टराई आचार्यलाई आमन्त्रण गरेर महिला साहित्यकारहरूका चुनौतीहरूमा अन्तरक्रिया कार्यक्रम गर्नुको साथै स्थानीय साहित्यकारहरु र अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने महिला तथा पुरुष साहित्यकारहरूलाई निमन्त्रणा गरेर कवि गोष्ठी सम्पन्न गर्‍यो ।

दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा संस्थाकी सदस्य प्रभा पोख्रेलले संस्थाको परिचय दिनुको साथै अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदा ती नारीहरू जसले हाम्रा हक अधिकारका लागि उठ्न र जुट्न सिकाए तिनीहरूलाई हामीले कहिले पनि बिर्सन हुँदैन भन्नुका साथै महिला दिवस किन सुरु गरियो र यसले हामी महिलाहरूलाई कस्तो प्रभाव पारेको छ भन्ने कुरामाथि थोरै प्रकाश पार्दै आमन्त्रित तथा स्थानीय स्रष्टाहरूलाई नर्थ क्यारोलाइनाको भर्चुअल आँगनमा स्वागत गर्नुभयो भने कार्यक्रमलाई शुभकामना नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष राजन पौडेल दिनुभयो ।

अन्तर्राष्ट्रिय महिला दिवसको सङ्घारमा आयोजना गरिएको कार्यक्रमको मुख्य आकर्षक “महिला साहित्यकारहरूका चुनौती” का विषयमा साहित्यकार द्वय मञ्जु काँचुली र प्रभा भट्टराईका आ—आफ्ना भनाइ र अनुभवहरू उपस्थित महानुभावहरूमा बाडन सहजकर्ताको भूमिका संस्थाकी अध्यक्ष नम्रता गुरागाईंले निभाउनु भयो ।

नेपाली साहित्यकारहरूका चुनौती विषयक अन्तरक्रियामा साहित्यका धेरै विधामा उत्तिकै कलम चलाइसकेकी साहित्यकार मञ्जु काँचुलीलाई महिलाका समस्याले के छोएनन् होला ? महिलाले दैनिक सामना गर्न पर्ने चुनौतीहरू वहाँलाई परेनन् होला ? कत्तिको सजिलो थियो पुरुष साहित्यकारहरु माझ महिला लेखिका भएर आफूलाई उभ्याउनमा भन्ने जिज्ञासाहरूमाथि आफ्ना अनुभवहरू बाढदै साहित्यकार काँचुली यसरी भन्नुहुन्छ –

आत्मबल, आर्थिक उपार्जनको श्रोत र समयको सदुपयोग गर्न जान्यो भने महिलाले मात्र नभएर सबैले आफूले चाहेको विषयमा ज्ञान हासिल गर्न सक्छन् । यी तीन कुराको अभाव भएर नै आम महिलाहरू पछाडि परेका हौँ । उपयुक्त शिक्षाको अभाव र नीति निर्माणमा सबैजसो पुरुष पर्ने हुनाले सक्षम महिला पनि पछाडि परेका छन् । महिलाका समस्या धेरै छन् । महिलालाई दोहोरो उत्तरदायित्व हुन्छ त्यसमापनि एकल महिलालाई अझै बढी उत्तरदायित्व हुन्छ । यसको अर्थ पुरुष खराब हुन भनेको होइन तर महिला पहिलैदेखि थिचिएका, पिल्सिएकाले हामीले महिलाको आवाजमा बोल्नै पर्छ, समानताकालागि बोल्नै पर्छ । पारिवारिक माहौल मेरो लागि राम्रो भए पनि समाज राम्रो थिएन । कानुनले दिएको आर्थिक समानता हामीले अझै भोग गर्न पाएका छैनौँ । त्यो सबै महिलाले भोग गर्ने वातावरण निर्माण गर्नका लागि राज्यले निगरानी गर्नुपर्छ तर गरेको छैन, किन त भन्दा नीति निर्णय गर्ने ठाउँमा महिला छैनन् अथवा थोरै भएर पनि उनीहरूको आवाज शून्य छ ।

साहित्य लेखनको अलावा मनोवैज्ञानिक परामर्श दिने साहित्यकार काँचुलीले महिला र पुरुष दुबैलाई उमेर अनुसारको सही परामर्शको अभावले समाजमा हत्या र हिंसा पहिलाभन्दा बढेको हो भन्ने कुरामा दुई मत नभएको जानकारी गराउनु भयो । वहाँले महिलाले अगाडि बढ्न आफ्नो आत्मा आलोचना पनि गर्नुपर्छ र सकारात्मक सोचलाई लिएर हिडनु पर्छ भन्नुभयो ।

यसै गरी साहित्यकार मञ्जु काँचुलीलाई सोधिएकै जिज्ञासाहरूमा केन्द्रित रहेर अर्की मूर्धन्य साहित्यकार, प्राध्यापक प्रभा भट्टराईले महिला साहित्यकारहरूका चुनौतीहरूका बारेमा यसरी आफ्ना अनुभवहरू बाडनु भयो –

प्रौढ कविता र बाल कविता दुइमा धेरै फरक छ जसको महत्त्व नबुझिदिएर बालकले थाम्न नसक्ने अर्थ बोकेका पुरुषले मात्र लेखेका कथा, कविता विद्यालयमा पढाउन पठाइयो। त्यही भएर हामीले नारीका आमा हृदयले छामेका कविता, कथा पढ्न पाएनौँ । बा हृदयले लेखेका कविताले आमाका मनका कुरा अथवा महिलाका राम्रा कुरा कहिल्यै लेखेनन्, त्यही भएर हामी नारी र पुरुषमा आएको भिन्नता । विद्यालयमा पढाउने पनि धेरैजसो पुरुष र उनीहरूले वाक्य बनाउन सिकाउँदा सिकाएको “बा अफिस जानहुन्छ” तथा ”आमा भान्सामा खाना बनाउनुहुन्छ“ जस्ता वाक्यहरूले बाल हृदयमा महिला भनेको काम मात्र गर्न जान्ने लेखपढ त बाले जान्ने कुरा हो भन्ने सन्देश पर्‍यो । जसको परिणामस्वरूप त्यही शिक्षा पाएर हुर्किएका बालकहरू नै आजको नीति निर्माणमा छन् । जसले महिला र पुरुषको काम गर्ने क्षमतालाई एकै ठाउँमा राखेर हेर्न सक्दैनन् । अब महिलाले लेखेका कथा, कविता विद्यालयमा पढाइनुपर्छ ता कि साना नानीहरूले सुरुआतदेखि नै बा र आमा उत्तिकै महत्त्वपूर्ण व्यक्तिहरू हुन छोराछोरीकालागि भन्ने सन्देश दिन सक्छ र यो सन्देशले समाजमा नारी र पुरुषलाई उस्तै आँखाले हेर्न सिकाउन सक्छ ।

बच्चाहरूलाई दिइने शिक्षामा विचार गरिएन भने त्यसको नराम्रो घाटा समाजले साथसाथै राज्यले बेहोर्नुपर्छ भन्ने कुराको जरामा पक्रिएर साहित्यकार भट्टराईले आफ्ना अनुभवहरू दर्शकदिर्घामा बाडनु भयो ।

कार्यक्रमको दोस्रो चरणमा कविता वाचनको कार्यक्रमलाई सञ्चालन गर्दै संस्थाकी कोषाध्यक्ष सुजाता ढुङ्गेलले महिलाले सहयोगी जीवनसाथी पाए भने सबै जिम्मेवारी बहन गरेर पनि छोरा र छोरीलाई सुयोग्य नागरिक बनाउन सक्छन् भन्ने सन्देश मूलक भनाइ प्रस्तुत गर्दै अनेसासका केन्द्रमा र विभिन्न च्याप्टरहरूमा रहेर नेपाली साहित्यको भण्डारमा इँटा थपिरहनुभएका आमन्त्रित महिला तथा पुरुष स्रष्टाहरू र स्थानीय स्रष्टाहरू बिच आ–आफ्ना रचना वाचन गर्ने अवसर प्रदान गर्नुभयो । रचना वाचन गर्ने क्रममा अनेसास केन्द्रीय उपाध्यक्ष गोवर्धन पुजाले महिला दिदीबहिनीहरूको आवाजलाई उठाउने योजना अनुरूप हामीले धेरै कार्यक्रम गरिराखेका छौँ यसले महिलालाई अघि बढ्न सिकाउने छ भन्नुभयो । रचना वाचन गर्नेहरुमा प्रभा भट्टराई, मञ्जु काँचुली नेपाल, सकुन् ज्ञवाली न्यु योर्क, शर्मिला पोख्रेल क्यानडा, डा. कविता घिमिरे मेरिल्यान्ड , सीता अर्याल विसकन्सिन र कमला न्यौपाने क्यान्ससबाट, हुनुहुन्थ्यो भने नर्थ क्यारोलाइनाका विभिन्न सहरबाट सविता विष्ट, उमा अधिकारी, सविता गैरे, शिखर दुलाल, जानुका पौडेल र उमा शर्मा हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू