अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

आज तेस्रो दिन पनि युक्रेनमा रुसको आक्रमण जारी

बिआरटीनेपाल २०७८ फागुन १४ गते ७:२२ मा प्रकाशित

युक्रेनमा आज तेस्रो दिन पनि रुसले आक्रमण गरिरहेको छ । युक्रेनको राजधानी कीभमा विस्फोटका घटना भइरहेका छन् । राजधानीमा अहिले विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको बीबीसीले जनाएको छ । युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । अमेरिकी अर्थमन्त्रालयले औपचारिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोफविरुद्ध प्रतिबन्ध लगाएको छ ।

विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु महत्त्वपूर्ण घटना मानिन्छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले शान्तिका लागि थप प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले युक्रेनमाथि आक्रमण गरेका रुसी फौजलाई ब्यारेकमा फर्किन आग्रह समेत गर्नुभएको छ ।

यसैबीच, युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ । रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए । तर रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारेको हो ।

रुससहित अमेरिका, बेलायत, फ्रान्स र चीन सुरक्षा परिषदका स्थायी सदस्य हुन् र उनीहरुमाथि भिटो शक्ति छ । रुसले आफ्नो निन्दा गरिएको प्रस्ताव विफल पार्नका लागि भिटो प्रयोग गरेको हो । प्रस्तावमाथि मतदान हुँदा भारत, चीन र युएई अनुपस्थित रहे । उनीहरु युक्रेनमाथि भइरहेको रुसी आक्रमणमा रुसको पक्षमा देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू