अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

मोदीसँग जेलेन्स्कीको संवाद : ‘सुरक्षा परिषदमा समर्थन गर्न आग्रह’

बिआरटीनेपाल २०७८ फागुन १४ गते ७:१५ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । शनिबार ट्वीटमार्फत दिइएको जानकारीमा जेलेन्स्कीले मोदीलाई रुसी आक्रमणको बारेमा जानकारी दिँदै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा युक्रेनलाई राजनीतिक समर्थन गर्न आग्रह गरेका छन् ।

‘अहिलेसम्म १ लाख आक्रमणकारी हाम्रो भूमिमा परिसकेका छन्, उनीहरूले अन्धाधुन्द गोली र बम प्रहार गरिरहेका छन्,’ जेलेनेन्सीले ट्वीटमा लेखेका छन्, ‘भारतले सुरक्षा परिषद्मा राजनीतिक समर्थन गरेर आक्रमणकारीलाई रोकौं ।’जवाफमा प्रधानमन्त्री मोदीले जारी द्वन्द्वका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले हिंसाको तुरुन्त अन्त्य र वार्तामा आउनका लागि आफ्नो आह्वान दोहोर्याउनुका साथै शान्ति प्रयासहरूमा कुनै पनि तरिकाले योगदान गर्न भारत तयार रहेको बताएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

साथै मोदीले युक्रेनमा रहेका विद्यार्थीलगायत भारतीय नागरिकको सुरक्षा र सुरक्षाप्रति भारतको गहिरो चासो व्यक्त गर्दै युक्रेनी अधिकारीहरूसँग भारतीय नागरिकहरूलाई छिटो र सुरक्षित रूपमा बाहिर निकाल्न सहजीकरण गर्न आग्रह गरे ।भारतका प्रधानमन्त्री मोदीले युक्रेनमाथि रुसले आक्रमण गरेपछि शुक्रबार रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनलाई सम्पनर्क गरेर हिंसा बन्द गरेर संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेका थिए ।

जेलेन्स्कीले सुरक्षा परिषद्मा समर्थन गर्न आग्रह गरे पनि शुक्रबार भारत, चीन र युएईले मतदानमा सहभागी भएनन् । परिषद्ले रुसको कदमको निन्दा गर्दै थप कदम चाल्ने प्रस्ताव गरेको थियो तर रुसले भिटो प्रयोग गर्दै उक्त प्रस्ताव नै खारेज गरिदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू