अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

पूर्वी युरोपमा आफ्ना सेनाको तैनाथी दोब्बर पार्ने बेलायतको तयारी

बिआरटीनेपाल २०७८ माघ १६ गते ६:१० मा प्रकाशित

युक्रेनको विषयलाई लिएर रुस र अमेरिकाबीच तनाव बढ्दै गएका बेला बेलायतले पूर्वी युरोपमा आफ्ना सेनाको तैनाथी दोब्बर पार्ने तयारी गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पूर्वी युरोपमा थप सैनिकको तैनाथीले रुसलाई स्पष्ट सन्देश दिने जानकारी दिनुभएको छ । रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको आरोपको परिवेशमा पश्चिमा राष्ट्रहरु त्यसको सामना गर्ने तयरीमा जुटेका छन् ।

रुसमाथि दबाब बढाउने विकल्पका रुपमा बेलायतले पूर्वी युरोपमा आफ्नो सैन्य उपस्थिति बढाउने विषयमा निर्णय गर्ने जनाइएको छ ।बेलायतका रक्षा तथा विदेश सचिवले मस्कोमा तनाव कम गर्ने प्रयासस्वरुप रुसी समकक्षीसँग भेटवार्ताको तयारी पनि गरेका छन् ।

जोन्सनले यो हप्ता पूर्वी युरोपको भ्रमण गर्ने तयारी गरेका छन् रुसको कुनै पनि प्रकारको हस्तक्षेप वा अस्थिरता ल्याउने गतिविधि बेलायतका लागि सह्य नहुने र आफूहरु जहिले पनि सैन्य गठबन्धन नेटोका साझेदारसँग साथ रहने जोन्सनले बताउनु भएको हो ।

पुटिनले युद्धको मार्ग रोजेमा त्यो निर्णय युरोपका लागि गम्भीर रुपमा घातक हुने बेलायती प्रधानमन्त्री जोन्सनले बताउनु भएको छ । आगामी साता युरोपका विभिन्न क्षेत्रमा तैनाथ हुन तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएको प्रधानमन्त्री जोन्सनको भनाई छ ।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा पछिल्लो केही हप्तामा करिब एक लाख सैनिक तैनाथ गरेको छ । यसलाई अमेरिकासहितका उसका सहयोगी राष्ट्रहरुले युक्रेनमाथि रुसी आक्रमणको तयारी भनेका छन् । यद्यपी रुसले भने युक्रेनमा आक्रमणको तयारी नरहेको दावी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू