अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

आगामी चुनावसम्म गठबन्धन रहन्छ: अध्यक्ष माधव नेपाल

बिआरटीनेपाल २०७८ माघ १५ गते ४:३० मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन कायम रहने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन लागि परे पनि त्यो प्रयास सफल हुन नदिने बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेसका नेताहरु पनि सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि आफ्नो पार्टी तयार रहेको बताउनुभयो । उहाँले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि स्थानीय निर्वाचन सामना गर्न तयार रहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले जनतामा जाने कुराबाट आफुहरु अत्यन्त खुसी हुने बताउनुभयो । उहाँले शनिवार विहान बसेको गठबन्धन बैठकमा पनि नेपाली काँग्रेसका सबै नेताहरुले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिवद्धता व्यक्त गर्नु भएको जानकारी दिनुभयो । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिनाभित्र गर्न उपयुक्त हुने धारणा पनि राख्नुभयो । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गते पछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको उहाँको दावी थियो । अध्यक्ष नेपालले संवैधानिक व्यवस्थाअनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू