अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६ | Colorodo: 09:51

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, संविधानको मर्मअनुसार समयमै चुनाव गराउन प्रधानमन्त्री देउवालाई राष्ट्रपतिको आग्रह

बिआरटीनेपाल २०७८ माघ १३ गते ६:४० मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको भावनाअनुसार तोकिएकै समयमा चुनाव गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।आज बिहीवार शीतल निवास पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लोकतन्त्रको विशेषता नै आवधिक चुनाव भएकाले संविधानको मर्म र भावनाअनुसार स्थानीय तह र अन्य चुनाव गर्न आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

तोकिएको समयमा चुनाव गर्नु संविधानको कार्यान्वयनसँग पनि जोडिएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको ढकालले बताउनुभयो । भेटमा प्रधानमन्त्री देउवाले संविधानको मर्मअनुसार नै चुनाव गर्नका लागि छलफल भइरहेको बताउनुभयो । प्रतिपक्षी दलले लगातार संसद् अवरोध गर्दा चुनावसहित संविधानको कार्यान्वयनसँग जोडिएका अन्य काममा समेत अफ्ठेरो भइरहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । सबै दलसँग छलफल गरेर चुनावको बारेमा छिटै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच झन्डै एक घण्टा कुराकानी भएको थियो । आउँदो जेठ ६ गतेअघि नै स्थानीय तहको चुनाव हुनुपर्ने भए पनि सरकारले मिति घोषणा गरेको छैन । निर्वाचन आयोग, प्रतिपक्षी दल एमाले, संविधान तथा कानुनविद् लगायतले यथाशीघ्र चुनावको मिति घोषणा गर्न माग गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू