अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

प्रधानमन्त्री देउवाद्धारा राष्ट्रका नाममा सम्बोधन, संविधानको कार्यान्वयन र शान्ति सुरक्षाको प्रत्याभूति सरकारको उच्च प्राथमिकता

बिआरटीनेपाल २०७८ माघ ७ गते ४:५९ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने तथा प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह पनि गर्नुभयो ।

सरकारले निर्वाचन पुर्व तयारीको काम गरिरहेको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो । कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको प्रधानमन्त्री देउवाको भनाइ रहेको थियो । प्रधानमन्त्री देउवाले आफ्नो सरकारले ६५ प्रतिशतलाई नागरिकलाई कोभिडविरुद्धको खोपका पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको बताउनुभयो ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको भन्दै उहाँले अर्थतन्त्र र सामाजिक कृयाकलापमा सकेसम्म काम असर पर्नेगरी व्यवस्था मिलाइने जानकारी उहाँले दिनुभयो । यस्तै, प्रधानमन्त्री देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने पनि बताउनुभयो । सबै दलहरूसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयहरूलाई निष्कर्षमा पुर्याउने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, कानुनी राज्य, सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिने तथा विभिन्न पक्षसँगको सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्या समाधान गर्ने, संघीयता कार्यान्वयन गर्ने एवम् प्रदेश र स्थानीय सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । प्रधानमन्त्री देउवाले आफ्नो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको दाबी पनि गर्नुभयो ।

यस्तै, भैरहवा र पोखरा बिमानस्थल निर्माणको काम निरन्तर रुपमा अगाडी बढेको, ६ महिनाको यो अबधिमा १ सय ७७ किलोमिटर सडक निर्माण भएको तथा झोलुङ्गे पुलहरू बनेको पनि प्रधानमन्त्रीले बताउनुभयो । तराइका बिपिन्न तथा गरिब नागरिकका लागि तराइ मधेस ट्युवेल तथा स्वच्छता कार्यक्रम सञ्चालन भएको छ भने यो अबधिमा ७५ जना गर्भवती महिलाहरुलाइ बिभिन्न स्थानबाट उद्धार गरिएको छ ।

यो अबधिमा विद्यूतिय राहदानी वितरण गरिएको तथा सरकारी कार्यालयहरूको कामलाइ चुस्तता दिईएको उहाँले बताउनुभयो । मेलम्चीको पानी यस वर्षभित्र काठमाडौंवासीका लागि ल्याउने प्रतिवद्धता उहाँले जनाउनुभयो भने सरकारले रासायनिक मल जी टू जी मार्फत खरिदका लागि प्रक्रिया अघि बढाएको पनि प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू