अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

नेपालमा थप ११ हजार ३ सय ५२ जनामा संक्रमण, ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ माघ ५ गते ६:३७ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म्कै उच्च रेकर्ड राख्दै उक्त अवधिमा ११ हजार ३ सय ५२ संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको छ ।

उहाँका अनुसार कुल २३ हजार ४ सय ९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा ६ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभरमा ४७ हजार ९ सय २९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या २८ र आइसियुमा १६९ जना रहेका छन् । होम आइसोलेशनमा ४६ हजार ५१५, संस्थागत आइसोलेशनमा एक हजार ४१४ गरी आइसोलेशनमा जम्मा ४७ हजार ९२९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, संस्थागत क्वारेन्टिनमा १२६ रहेका छन् ।

कोभिड सङ्क्रमण दैनिक बढिरहेकाले सबै सङ्घसंस्थाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीको भनाइ छ । सभा, सम्मेलन र भेला सकेसम्म ‘भर्चुअल’ गर्ने र भौतिक उपस्थितिमै गर्नुपरेमा २५ जनासम्म मात्रैको उपस्थितिमा गर्नुपर्ने उहाँले बताउनुभयो । ती कार्यक्रमभन्दा पहिले सबैको परीक्षण गर्ने र खोप लगाएको सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू