अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

सभापतिले एकलौटी रुपमा केन्द्रीय सदस्य मनोनयन गरेको काँग्रेस नेता कोइरालाको आरोप

बिआरटीनेपाल २०७८ पुष २१ गते ७:१७ मा प्रकाशित

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले आफूखुसी रुपमा केन्द्रीय सदस्य मनोनित गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेता डा. कोइरालाले आज एक अपिल जारी गर्दै १४ औं महाधिवेशनपछि कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो ? भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको छ ।

नियुक्ति पाउनुभएका सबै व्यक्तिहरू सक्षम र योग्य भएपनि आफूले नियुक्तिका मापदण्डका बारेमा भने जान्न चाहेको उहाँले बताउनुभएको छ । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेकोमा जोड दिदै उहाँले नभए कार्यकर्ता किन काँग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्ने बताउनुभएको छ । सभापति देउवाले दुईपटक गरी हालसम्म १३ जना केन्द्रीय सदस्य मनोनित गर्नुभएको छ । जसमा आफू निकटका व्यक्तिलाई मात्र मनोनित गरेको र इतर पक्षलाई बेवास्ता गरेको कोइराला पक्षको गुनासो छ ।

नेता कोइरालाले सभापतिलाई मन पर्ने र नपर्नेका रुपमा व्यक्तिको छनोट हुन थालेमा पार्टी दुर्घटनामा पर्ने बताउनुभएको छ । नेता कोइरालाले आजै आफू निकटका नेताहरूसँग पनि छलफल गर्नुभएको छ । आफू निकट नेताहरूको छलफलको आधारमा नै उहाँले यस्तो बताउनुभएको हो । महाधिवेशनमा कोइराला सभापति देउवासँग पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू