अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

भारतको महाराष्ट्रमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सार्वजनिक कार्यक्रममा रोक

बिआरटीनेपाल २०७८ पुष १५ गते ५:४३ मा प्रकाशित

भारतको महाराष्ट्रमा कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएको भन्दै सार्वजनिक कार्यक्रममा रोक लगाइएको छ । महाराष्ट्रको मुम्बई, पुणे लगायतका क्षेत्रमा कोरोना सङ्क्रमणको दर तीव्र गतिमा बढ्न थालेपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले प्रतिवन्धमा थप कडाई गरेको हो ।

गत २४ घन्टामा मुम्बईमा मात्रै २ हजार ५ सयभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् भने राजधानी दिल्लीसहित विभिन्न राज्यमा पनि सङ्क्रमणदर उच्च हुन थालेको भारत सरकारले जनाएको छ । यस्तै दिल्लीमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको दिल्ली सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजोको भन्दा आज ४३ प्रतिशतले नयाँ सङ्क्रमित थपिएको दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बताउनुभयो ।

नयाँ वर्षको आगमनका लागि सर्वसाधरणको चहलपहल अत्यधिक बढेकाले सङ्क्रमण तीव्र गतिमा फेरि फैलिन थालेको भन्दै उहाँले अत्यावश्यक बाहेकको काम नपरि घरभन्दा बाहिर ननिस्कन पनि आग्रह गर्नुभएको छ । यस्तै नयाँ वर्षको आगमनका लागि मानिसहरू एकै ठाउँमा भेला हुने हुँदा चेन्नईमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने दिल्ली, मुम्बई र बिहारमा रात्रीकालिन कर्फयु लगाइएको छ । भारत कोरोनाको दोस्रो चरणको लहरका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू