अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

माओवादी केन्द्र महाधिबेशनः प्रचण्डको दस्तावेजमाथि सामूहिक छलफल

बिआरटीनेपाल २०७८ पुष १३ गते ६:३२ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा पेस भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरूङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल सुरू भएको छ। आइतबारदेखि सुरू भएको माओवादीको आठौं राष्ट्रिय महाधिवशेनको बन्दसत्रले अध्यक्षको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको थियो।

‘समूह १’ मा ज्येष्ठ कम्युनिष्ट मञ्च रहेको छ। सो समूहले प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफल सुरू गरेको छ। सो समूहको समन्वयको जिम्मेवारीमा एनके प्रसाईं छन्। समूह २ र ३ मा पार्टीका सल्लाहकार रहेका छन्। सो समूहको छलफल प्रज्ञा भवनको मुख्य मञ्चको दायाँबायाँ हुँदैछ। सो समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ।

समूह ४ र ५ मा प्रदेश नं १ का प्रतिनिधिले प्रज्ञा भवन भानुभक्त हलमा छलफल थालेका छन्। समन्वयको जिम्मेवारी भने प्रदेश नं १ का अध्यक्ष हर्क नेम्वाङले पाएका छन्। समूह ६ र ७ मा प्रदेश नं २ का प्रतिनिधिहरू सहभागी छन्। यो छलफल प्रज्ञा भवनको पारिजात हलमा भइरहेको छ। सो समूहको समन्वय गर्ने जिम्मेवारी गणेश साहले पाएका छन्।

समूह ८ र ९ मा लुम्बिनी प्रदेशका प्रतिनिधिको प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल हुनेछ। सो समूहको संयोजन नेता चक्रपाणि खनालले गर्नुभएको छ । समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन्। सो समूहको छलफल पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ। सो समूहको संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङ हुनुहुन्छ ।

समूह १२ मा प्रवास प्रदेशका प्रतिनिधि छन्। सो समूहले पनि पार्टी कार्यालय पेरिसडाँडामा विचार विमर्श सुरू गरेको छ। सो समूहको समन्वय गर्ने जिम्मेवारीमा लक्ष्मण पन्त हुनुहुन्छ । समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधि सहभागी छन्। सो समूहले एवान पार्टी प्यालेसमा छलफल गर्दैछ। संयोजकमा कर्णाली प्रदेश अध्यक्ष बिमला केसी हुनुहुन्छ । समूह १५ र १६ मा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन्। सो समूहको समन्वय गर्ने जिम्मेवारीमा भने खगराज भट्ट हुनुहुन्छ । समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन्।

सो समूहले क्वालिटी बैंक्वेट बुद्धनगरमा छलफल गर्नेछ। समन्वय गर्ने जिम्मवारी नेता मायाप्रसाद शर्मालाई तोकिएको छ। समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन्। समन्वय गर्ने जिम्मेवारीमा नेता जगत सिङ्खडा रहनुभएको छ । समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि समेटिएका छन्।

छलफलको स्थान भने क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार रहेको छ। नेता कृष्ण अधिकारीले सो समूहको समन्वय गर्नुभएको छ । समूह २२ र २३ मा बागमती प्रदेशका प्रतिनिधि छन्। छलफलको स्थान भने काठमाडौं बैंक्वेट थापागाउँमा सुरू भएको छ। सो समूहको समन्वय प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले गर्नुभएको छ । समूह २४ मा आयोगका सदस्यहरू छन्।

सो समूहले पनि काठमाडौं बैंक्वेट थापागाउँमा छलफल सुरू भएको छ। सो समूहको समन्वय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ गरिरहनुभएको छ । समूह २५ मा जनवर्गीय सङ्गठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि सहभागी छन्। सो समूहले काठमाडौं बैंक्वेट थापागाउँमा छलफल सुरू गरेको छ।सो समूहको समन्वय नेत्री अमृता थापा मगरले गर्नुभएको छ । माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ।

पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ। समूहगत छलफलका लागि केन्द्रीय सदस्य सम्बन्धित प्रदेश वा विभागमा पुगेका छन्। मङ्गलबार दिनभर समूहगत छलफल भएको माओवादी केन्द्रले जनाएको छ । बुधबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा समूह प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू