अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

मन्त्रिपरिषद् बैठक– माघ १२ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:२५ मा प्रकाशित

सरकारले आउँदो माघ १२ गते राष्ट्रिय सभा चुनावको मिति तोक्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज शुक्रवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रिय सभा चुनावको मिति तोक्ने निर्णय गरिएको जानकारी दिनुभएको हो ।

यस्तै सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौँ सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पढाउने प्रस्ताव पनि स्वीकृत गरेको छ । त्यसैगरी नायब महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको पार्षदमा वैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले एसियन–अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाईजेशनको ५९ औँ वार्षिक सभामा भाग लिन कानुन, न्याय तथा सङ्घीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव पनि स्वीकृत गरेको छ । रक्षामन्त्री डा. मिनेन्द्रप्रसाद रिजाल नेतृत्वको प्रतिनिधिमण्डललाई दक्षिण कोरियामा हुने यूएन पिस किपिङ मिनिस्ट्रियल मिटिङमा भाग लिन पठाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।

मन्त्रिपरिषद बैठकले मोरक्कोमा हुने इन्टरनेशनल एक्जुक्युटिभ काउन्सिल अफ आईईसी सम्मेलनमा सिँचाइ सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिएको छ । एसियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीकार गर्ने, नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औँ तहमा डा. श्यामसुन्दर यादव, भीमसिंह तिङ्करी र डा. गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि समिति गठन गर्ने निर्णय पनि गरिएको छ । सङ्क्रमण पशु रोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि मन्त्रीपरिषद् बैठकले दिएको मन्त्री कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू