अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी, ६ जना कानुन व्यवसायी घाइते

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ६:५७ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच बिहीबार सर्वोच्च अदालत परिसरमा घम्साघम्सी भएको छ। घम्साघम्सीका नेपाल बार एसोसियसनका महासचिव लीलामणि पौडेलसहित ६ जना कानुन व्यवसायीहरु घाइते भएका छन्।

नेपाल बार एसोसियसनको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि दुईपक्षबीच घम्साघम्सीसँगै हात हालाहालको स्थिति उत्पन्न भएको हो। बारले सर्वोच्च परिसरमा पोडियम राखेर विरोधसभा गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले जबरजस्ती पोडियम हटाएपछि कानुन व्यवसायी र प्रहरीबीच हात हालाहाल हुँदा ६ कानुन व्यवसायीहरु घाइते भएको नेपाल बारले जनाएको छ। यससँगै बारको आन्दोलनले उग्र रुप लिने देखिएको छ।

बारले आज प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतसहित उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा बिहान १० देखि १२ बजेसम्म कालोपट्टि बाँधेर धर्ना दिएको थियो।धर्नापछि सर्वोच्चमा गर्न लागिएको विरोधसभामा प्रहरीको हस्तक्षेपको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले विरोध एवं भर्त्सना गर्नुभएको छ । उहाँले भोलिदेखि आन्दोलन थप सशक्त बनाइने जानकारी दिनुभयो ।

बार एसोसियसनसँगै प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै सर्वाेच्चका न्यायाधीशहरुसमेत कात्तिक ८ गतेदेखि आन्दोलनमा छन्। उनीहरुले राणाले तोकेका इजलासमा बस्न अस्वीकार गर्दै आएका छन्। इजलासमा नबसेको भन्दै सर्वत्रबाट विरोध हुन थालेपछि आन्दोलनरत न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दा भने सुनुवाइ गर्न थालेका छन्।

बिहीबार पनि प्रधानन्यायाधीश राणाले आफूसहितका न्यायाधीशको लागि इजलास तोक्नुभएको छ । राणाले कसैले माग्दैमा राजीनामा नदिने अडान लिँदै आउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू