राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रा चाडपर्व र परम्पराहरूले नेपाली समाजलाई सुदृढ बनाउँदै लगेको बताउनुभएको छ ।
नेपाल संवत् ११४२ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वा्न गर्नुभएको हो ।
‘आदिकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको छ। हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन्‚’ राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ‘सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वा्न गर्दछु ।’
राष्ट्रपति भण्डारीले नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने नेपालको मौलिक संवत् भएको बताउनुभयो । लिच्छवि राजा राघवदेवको समयमा काठमाडौं उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ । यसबाट कृषिलाई प्राथमिकता दिएको कुरा समेत स्पष्ट हुने राष्ट्रपति भण्डारीले बताउनुभएको छ ।
उहाले राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित‚ उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।